इटहरी : धनकुटाको साँगुरीगढी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका जितेन्द्र रुम्दाली विजयी भएका छन् । नेपाली काँग्रेस धनकुटा प्रदेशसभा १ का क्षेत्रीय सभापति समेत रहेका राई गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्।
नेकपा एमालेका कुमार जङ्ग याक्खालाई पराजित गर्दै उनले इतिहास बनाएका छन् । २०७४ को निर्वाचनमा उनै याक्खा सँग पराजित उनले बदला लिएका छन् । रुम्दालीले ५५९९ मत ल्याउँदा याक्खाले ४८२८ मत पाएका छन् । यसअघि याक्खाले ४४४९ मत ल्याउँदा रुम्दालीले ३३३९ मतमा चित्त बुझाउनु परेको थियो।
उपाध्यक्षमा नेकपा एमालेकी मुना राई विजयी भएकी छिन् । राईले ४६४० मत ल्याउँदा गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टीका लीलाराज लावती ४१३६ प्राप्त गरे । 
को हुन् रुम्दाली ?
वि. सं. २०५४ सालमा महेन्द्र बहुमुखी क्याम्पस धरानमा नेपाल विद्यार्थी सङ्घबाट राजनीति सुरु गरेका हुन् । १२ औ महाधिवेशनबाट गाउँ कमिटी सचिव निर्वाचित भएका हुँदै क्षेत्रीय कार्य समिति सचिवमा निर्वाचित भएका थिए । १३ औँ महाधिवेशनमा क्षेत्रीय सभापति निर्वाचित उनी १४ औँ महाधिवेशनमा धनकुटा जिल्लाबाट प्रदेशसभा 'क' को क्षेत्रीय  सभापतिमा निर्वाचित भए ।
कोभिड महामारीको समयमा लेउती खोलामा काम गर्ने मजदुरलाई राहत वितरण गरेका उनले कोभिडको महामारीमा पालिकाका स्वास्थ्य चौकीमा स्वास्थ्य सामग्री वितरण गरेका थिए । विद्यालयलाई खानेपानी टङ्की वितरण गर्ने देखी शैक्षिक सामग्री उपलब्ध गराउने काममा अग्रणी भूमिका खेलेका थिए । भेडेटारको सङ्ख पार्क निर्माणमा समेत उनको भूमिका उल्लेखनीय छ । 
२०६४ सालदेखि ६ वर्षसम्म पाथीभरा क्लब भेडेटारको अध्यक्ष भएका उनी नेपाल रेडक्रस सोसाइटी भेडेटारका सचिव हुन् । प्रथम भेडेटार महोत्सव-२०६५ का सचिवको जिम्मेवारी पुरागरि २०६९ सालमा स्थापना भएको होटेल एसोसिएसन भेडेटारको संस्थापक सचिव भए । हाल उनी सोही संस्थाको अध्यक्षको रूपमा कार्यरत छन् ।
भिलेज रिसोर्ट, भेडेटारका सञ्चालक उनले आफ्नो प्राथमिकताका क्षेत्रमा सडक, विद्युत् र खानेपानी गाउँ टोलमा पुर्याउने तथा युवा स्वरोजगारको अभियान चलाउने बताएका छन् । अहिलेसम्म ग्रामीण क्षेत्रको विकाशमा ध्यान दिएको बताउँदै उनले अब सागुरिगढीलाई व्यवस्थित पर्यटकीय गन्तव्य बनाउने योजना रहेको सुनाए ।
गाउँको कृषिमा आधुनिकीकरण गरी अर्गानीक उत्पादनमा जोड दिइने उनको भनाई छ । नमुना पर्यटकीय गाउँपालिका बनाउने योजना सहित अध्यक्ष निर्वाचित भएका उनले स्वास्थ्यमा सहुलियत प्रदान गर्ने, ज्येष्ठ नागरिकलाई सम्मान गर्ने, गुणस्तरीय तथा प्राविधिक शिक्षामा जोड दिने बताए ।
वडास्तरबाटै बैङ्किङ सेवा उपलब्ध गराउने लक्ष्य सहित उनी अगाडी बढिरहेका छन् । महिलाहरूलाई सीपमूलक तालिम प्रदान गरी उद्यमशील बनाउने देखी होमस्टेलाई थप प्रोत्साहन गर्ने उनको योजना छ । ज्येष्ठ नागरिक तथा सुत्केरी महिलालाई घरमै मासिक रूपमा स्वास्थ्य परीक्षण गरेर निरोगी पालिका बनाउने रुम्दालीले सुनाए ।