काठमाडौं : गत साताबाट देशभर प्रदर्शनमा आएको चलचित्र 'कबड्डी-४' ले प्रदर्शनको पाँच दिनमै १२ करोड ५५ लाख ग्रस कलेक्सन गरेर ऐतिहासिक रेकर्ड कायम गरेको छ । यो चलचित्रले हालसम्मकै सर्वाधिक शो पाउने चलचित्रको रेकर्ड बनाएको छ ।

चलचित्रका वितरक गोविन्द शाहीका अनुसार चलचित्रले अहिले पनि उत्साहजनक रूपमा व्यापार गरिरहेको छ। कलेक्सन अझै केही दिन यसैगरी बढ्ने बताइएको छ । यो चलचित्रले क्युएफएक्स चेनमा मात्रै एक सय बढी शो पाएको थियो । यसअघि सबैभन्दा धेरै शो पाउने चलचित्र ‘केजीएफ च्याप्टर-२’ थियो । जसले ८० शो पाएको थियो ।

ओपनिङ डेज हाउसफुल व्यापार गरेको चलचित्रले चार दिनमै १० करोडको आंकडा पार गरेको हो। चार दिनमा १० करोड ग्रस कलेक्सन गर्ने 'कबड्डी-४' नेपालमै पहिलो चलचित्र हो । यो चलचित्रले प्रदर्शन अगावै डिजिटल र ओभरसिज राइट्सबाट लगानी उठाइसकेको थियो ।

रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रमा दयाहाङ राई, मिरुना मगर, सौगात मल्ल, बुद्धि तामाङ, विजय बराललगायत कलाकारको मुख्य भूमिका छ।