विवेक लिम्बु 
काठमाडौँको मेयर र धरानको मेयर नितान्त स्वतन्त्र रूपमा निर्वाचित मेयर हुन्। आजसम्म कुनै पनि राजनीतिक दलको छायाँ सम्म नपरेका मेयर हुन् । तर बालेन्द्र शाह कम बोल्ने काम गर्ने मेयर रहेछन् । जनताको सहानुभूति खोज्ने मेयर हैन रहेछन् अनि हर्क साम्पाङ्ग बोलेको बोलेकै गर्ने, सामाजिक सञ्जाल मार्फत सहानुभूति बटुल्ने मेयर रहेछन्।
बालेन्द्र शाहले प्रधानमन्त्री भेटे, प्रमुख विपक्षी दलका नेता भेटे, पार्टीका शीर्ष नेताहरू भेटे, सहरी विकास मन्त्री भेटे, सम्बन्धित मेयर, उपमेयरहरू सबैको सहयोगले काठमाडौँको प्रमुख समस्याको रूपमा रहेको फोहोर व्यवस्थापनलाई आज समाधान गर्न सफल हुँदैछन् वा हुने चरणमा छन् । काठमाडौँको महिनौँ देखिको फोहोर व्यवस्थापन भइरहेको छ।
हर्क साम्पाङ्गको विरोध होइन यो सुझाव हो । तपाईँ कहिले खानेपानीको कुरा गर्नुहुन्छ, कहिले कर्मचारी चाहिँदैन भन्नुहुन्छ, खुल्ला प्रतियोगिता गरेर जागिर खुवाउँछु भन्नुहुन्छ, एक एक पैसाको हिसाब खोज्छु भन्नुहुन्छ, खोलाको कुरा गर्नुहुन्छ यसरी कसरी हुन्छ त ? एक वर्ष सम्म काम गर्नुस् । एक वर्ष सम्म जनताले तपाईँको काम खोज्दैनन् पनि एकबर्ष देखि तपाईँको कामको मूल्याङ्कन हुन्छ। जनप्रतिनिधि जादुको छडी होइन नि रातारात परिवर्तन हुनलाई। अनि जे-जे गर्नु छ बोल्नुभन्दा अगाडि गरेर देखाउनुस् । जनताले आफैँ थाहा पाईहाल्छन ।
कर्मचारी बिना जनप्रतिनिधिको पात हल्लिँदैन मेयर साहेब । उत्प्रेरित ढङ्गबाट कर्मचारीको मनोबल उच्च बनाएर कार्यसम्पादन गराउनुहोस्। खुल्ला प्रतियोगिताबाट कर्मचारी पदपूर्ति गर्न तपाईँ लोकसेवा आयोग हैन । स्थानिय स्रोत साधनको सदुपयोग गर्ने हो  मापदण्ड अनुरूप रहेर तर दोहन गर्न चैँ दिनु हुँदैन। अब एक एक पैसाको हिसाब खोज्दा तपाईँको ५ वर्ष त्यसै जाला ४८ साल देखिको हिसाब खोज्दा अनि काम कहिले गर्ने भएन भने काठमाडौँको मेयर सङ्ग ट्युसन लिनुस्।