इटहरी : नेपाली काँग्रेस सुन्दरहरैंचा नगर सभापति भक्ति प्रसाद सिटौलाले आफूमाथि साङ्घातिक हमला भएको बताएका छन् ।  मंगलबार पार्टी कार्यालयमा भएको बैठकमा पूर्व मेयर शिवप्रसाद ढकालले गुन्डा प्रयोग गरेर कुट्न खोजेको बताएका हुन् ।

स्थानीय तह निर्वाचनमा मेयरको उम्मेदवार समेत रहेका ढकाले आफूमाथि अन्यायपूर्ण ढङ्गले कदम चालेको उल्लेख गरे । सलकपुर चोकमा कार्यकर्ता भेलाको आयोजना गरेर उनले घटनाबारे जानकारी गराएका हुन् । 

"बैठकमा राजीनामा माग गरेर कुरा सुरु भयो । कोरम नपुगेपछि बैठक स्थगित भयो । अनि बारम्बार सम्झाउँदा पनि कसैले सुनेन । त्यसपछि म बाहिर निस्केँ । पूर्व मेयरले महिलालाई प्रयोग गरेर साङ्घातिक हमला गर्न लगाएको प्रस्ट छ" उनले भने । चुनावताका ढकाल आफैले वाड नम्बर ८, ११ र ३ मा आफूलाई मात्र मत मागेर अन्तर्घात गरेको उनको आरोप छ । चामल र पैसा खर्च गर्दा पनि नजिते पछि आफूमाथि आक्रमण गर्न लगाएको उनले बताए ।

ढकालको इसारामा अनधिकृत रूपमा असम्बन्धित व्यक्तिहरूको जत्था बैठक कक्षमा प्रवेश गराई पूर्व मेयरले आक्रमण गरेको रोष व्यक्त गरे । नियोजित र आपराधिक तरिकाबाट होहल्ला, हुलहुज्जत र भौतिक सामग्रीहरूको तोडफोड जस्ता कृत्यहरू भएकोमा उनले भर्त्सना गरेका छन् । 

स्थानीय निर्वाचनको परिणामलाई लिएर गलत अफवाह फैलाउने, आफ्नो कमजोरी, असक्षमता र अलोकप्रियतालाई ढाकछोप गर्न अनेक प्रपञ्च गरेको सिटौलाले बताए । व्यक्तिगत मानमर्दन, गाली बेइज्जती र आक्रमण सम्मको प्रयासमा उत्रने जस्तो अत्यन्तै गैर जिम्मेवार र निकृष्ट व्यवहार खेदजनक रहेको उनको भनाइ छ ।

पार्टीका नेतृत्व, पदाधिकारी, जिम्मेवार नेता तथा कार्यकर्ताहरुलाइ गाली बेइज्जत गर्ने र कपोकल्पित आरोपहरूको शृङ्खला तयार गर्ने कार्य भइरहेको उनले बताए । यस्ता भ्रामक, गलत तथा व्यक्तिगत कुण्ठा बोकेर आपराधिक मानसिकता भएका व्यक्तिहरूको बहकाउमा नलाग्न आग्रह गरेका छन् । ढकालको गतिविधि क्षम्य नहुने भन्दै उनले पार्टीगत र कानुनी कारबाहीको दायरा ल्याउने प्रस्ट पारे ।

Congress-bigyaptiii