धरान : धरान बास्केटबल सङ्घको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा असार ५ गते देखि सातौँ ट्यालेन्ट हन्ट बास्केटबल ट्रेनिङ क्याम्प सुरु हुने भएको छ । 

विशेष गरी एसइई दिएर बसेका विद्यार्थी खेलाडीहरूलाई लक्षित गरी ट्यालेन्ट हन्ट तथा ट्रेनिङ क्याम्प आयोजना गरिएको बास्केटबल सङ्घले जनाएको छ । ट्यालेन्ट हन्टको माध्यम वाट बास्केटबल खेल विकास तथा खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले सङ्घले विगत केही वर्ष देखि ट्यालेन्ट हन्ट प्रोग्राम आयोजना गर्दै आइरहेको छ ।

सङ्घले ट्यालेन्ट हन्टमा सहभागी एसइई दिएका विद्यार्थीहरूको प्रतिभा हेरेर धरानका विभिन्न कलेजमा छात्रवृत्ति दिदैं आइरहेको धरान बास्केटबल सङ्घका अध्यक्ष एवं नेपाल बास्केटबल सङ्घका केन्द्रीय उपाध्यक्ष सुरजकुमार लामाले बताए । हाल सम्म सङ्घको सिफारिसमा विद्यालय, प्लस टु र व्याचलर लेबलमा गरी सय भन्दा बढी महिला तथा पुरुष बास्केटबल खेलाडीहरू छात्रवृत्तिmमा अध्ययन गरिरहेका छन् ।  धरानको डिपो स्कुल, धरान मेघा कलेज, एम्स एकेडेमी, सगरमाथा एसडि कलेज, नेसनल कलेज, सियोन स्कुल लगायतमा बास्केटबल खेलाडीहरू छात्रवृत्तिमा अध्ययन गरी रहेका छन् । 

सातौँ ट्यालेन्ट हन्टका प्रतिभावान् दर्जन भन्दा बढी खेलाडीहरूलाई धरान मेघा कलेज, सियोन स्कुल, डिपो स्कुल र एम्स एकेडेमीमा छात्रवृत्तिmका लागि सिफारिस गरिने धरान बास्केटबल सङ्घले जानकारी दिएको छ ।

सातौँ ट्रयालेन्ट हन्टमा एसइई दिएका विद्यार्थी बाहेकका बास्केटबल प्रशिक्षण लिन इच्छुकहरूले ट्रेनिङ क्याम्पमा सहभागिता जनाउन पाउने छन् । असार ५ गते देखि दुई हप्ता सम्म सञ्चालन हुने ट्यालेन्ट हन्ट क्याम्प धरान १२ स्थित धरान मेघा कलेजको बास्केटबल कोर्टमा सम्पन्न हुनेछ । 

ट्रेनिङ क्याम्प सम्पन्न गर्नका लागि सुनसरी बास्केटबल सङ्घ, सियोन स्कुल, धरान मेघा कलेज, एम्स एकेडेमी र डिपो स्कुलको सहयोग रहेको छ ।

सहभागी प्रशिक्षार्थीहरूलाई  १ न. प्रदेश बास्केटबल प्रशिक्षक विकास चाम्लिङ राई र उनको सहयोगीहरूले प्रशिक्षण दिनेछन् । 

ट्रेनिङ क्याम्पको समापनमा थ्री बाई थ्री बास्केटबल प्रतियोगिता हुने 

सातौँ ट्यालेन्ट हन्ट बास्केटबल ट्रेनिङ क्याम्पको समापनको दिन थ्री बाईँ थ्री बास्केटबल प्रतियोगिता पनि हुनेछ । 

प्रतियोगितामा एसइई दिएका र दश कक्षा सम्मका विद्यार्थीहरूले सहभागिता जनाउन पाउनेछन् । विजेता तथा उपविजेता टिमलाई नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने बास्केटबल सङ्घले जनाए । प्रतियोगिताका उत्कृष्ट खेलाडी र उदयीमान खेलाडीलाई समेत पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।