इटहरी : प्रदेश १ को नाम राख्ने विषयमा सत्तारुढ दल एकमत हुन सकेका छैनन् । प्रदेशको नाम के राख्ने भनेर ठोस निर्णयमा पुग्न नसकेका दलहरूले छलफललाई तीव्रता दिएका छन् । 
प्रदेशसभाको सबैभन्दा ठुलो तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नामाङ्कनको विषय टुङ्गो लगाउन दबाब दिँदै आएको छ । सरकारमा आबद्ध तथा अन्य दलहरू सँग परामर्श गरेको एमालेले चालु अधिवेशनमा नाम राख्नुपर्ने धारणा सार्वजनिक गरेको हो । एमालेले प्रदेश १ को नाम कोसी राख्नुपर्ने बताउँदै आएको छ । 
२०७८ फाल्गुन २१ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा पुगेर प्रदेश १ को नाम कोसी प्रदेश राख्न सुझाव दिए । जात र थरको नामबाट भन्दा पनि प्रदेशको पहिचान झल्किने कोसी सभ्यताको पक्षमा लाग्नुपर्ने उनले बताए । कोसी आफैमा धर्म, ज्ञान, संस्कृति र परम्परा सँग जोडिएको सभ्यता भएको उनको भनाई थियो । 
सरकारमा सहभागी ठुलो दल नेपाली काँग्रेसले पनि भर्खरै नामको विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको छ । प्रदेशको सामाजिक सांस्कृतिक तथा भौगोलिक पहिचान झल्किने गरी सप्तकोसी प्रदेश राख्न सुझाव दिएको छ ।
नेपाली काँग्रेस प्रदेश १ का प्रमुख सचेतक सुयर्माराज राईले सप्तकोसी प्रदेश राख्नको लागि पार्टीले आधिकारिक धारणा तय गरेको बताएका छन् । ५ बर्से कार्यकाल पुरा हुनै लाग्दा पनि नाम राख्न नसक्नु लज्जास्पद भएको भन्दै उनले धारणा सार्वजनिक गरेका हुन् । 
उता एक जना मात्र सांसद रहेको राप्रपाले पनि भौगोलिक पहिचानको आधारमा नाम राख्नुपर्ने बताएको छ । सगरमाथा विश्वकै सान भएको र जुन प्रदेशको गौरव पनि भएकाले सगरमाथा प्रदेश राख्नुपर्ने उसको बुझाई छ । 
सुरुवात देखिनै पहिचानको पक्षमा वकालत गर्दै आएको माओवादी केन्द्रले भने जातीय पहिचानलाई केन्द्रित गरेको छ । किरात वा अन्य कुनै पहिचान झल्किन नाम राख्नुपर्ने माओवादी केन्द्रको तर्क छ । 
मुख्यमन्त्रीको दल नेकपा (एकीकृत समाजवादी) ले कोसी वा सगरमाथामा किरात जोड्नुपर्ने दबाब बढाएको छ । मुख्यमन्त्री आफै जातीय पहिचानको आधारमा नाम राख्नुपर्ने बुझाइमा छन् । उनले यसअघिकै किराँत प्रदेशको लागि नेताको घरमा भन्दा पनि सडक र चोक जाम गर्नुपर्ने बताएका थिए । विराटनगरमा नुन खुर्सानी र चिउरा खाएर हडताल गर्न समेत तयार हुनुपर्ने उनको भनाई थियो । प्रदेश सरकारले यसअघि स्वास्थ्य मन्त्री जयराम यादवलाई समन्वय गर्ने जिम्मेवारी दिएको थियो । उनले पनि कुनै रिजल्ट दिन नसकेपछि अहिले नामको विषय गन्जागोल भएको छ । स्वास्थ्य मन्त्रीको दल जनता समाजवादी पार्टीले किरात, लिम्बुवान, शेर्पालुङ मधेस नाम राख्न सुझाएको छ । उता सरकारमा सहभागी १ मात्र सांसद भएको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले लिम्बुवान वा किरात नाम राख्नुपर्ने प्रस्ताव गरेको छ ।