चतरा : पूर्व-पश्चिम राजमार्गको विकल्पमा काठमाडौँ जोड्ने पूर्वी पहाडी जिल्लाहरू सहज रूपमा आवतजावत गर्नसँगै तस्बिर खिच्न र टिकटक बनाउनकोलागी समेत सप्तकोसी नदीमा रहेको कोसी पुल (नयाँ पुल) रोजाइको स्थल बनिरहेको छ।
सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं १ र उदयपुरको बेलका नगरपालिका वडा ८ मा रहेको कोसी पुलमा घुम्न, रमाइलो गर्न आउने आन्तरिक पर्यटनहरूको बाक्लै भिडभाड हुने गर्दछ । कोसी नदीमाथि रहेको सुन्दर पुलमा तस्बिर खिच्न र टिकटक बनाउन मानिसहरू लालायित नै हुने गरेका छन् ।
प्राकृतिक रूपमा सुन्दर दृश्यसँगै कोसी पुलको कलात्मकताले आन्तरिक पर्यटकलाई आकर्षित गरिरहेको छ । कोसीमा पुल निर्माण भएसँगै वराहक्षेत्र वडा नं १ तिर पर्ने चतराबाट र बेलका बडा नं ८ तिर पर्ने कोढुमा होटेल व्यवसायहरू बाक्लै रूपमा खोलिएका छन् । पर्यटनहरूको आगमन पनि उल्लेखनीय रूपमा हुने गरेको छ । दैनिक रूपमा हजारौँ पर्यटकहरू उक्त कोसी पुलमा आएर तस्बिर खिचेर, टिकटक बनाएर रमाइलो गर्छन् । त्यस्तै उतिकै मानिसहरू पुलको माध्यमबाट आफ्नो यात्रा पूरा गर्ने गर्दछन् । 
तर पछिल्लो समय पुलमा गरिएको रङ्ग रोगन खुईलेको र पुलमा जोडिएको बत्ती नबलेका कारण पुलको सौन्दर्यता र सुरक्षा जोखिम थपिएको गुनासो सुनिन थालेको छ । स्थानीय होटेल व्यवसायीहरू पुलको रङ्ग रोगन र बत्तीको विषयमा सरोकारवाला पक्षहरू जिम्मेवारी हुनु पर्ने बताउँछन् । पुलमा बत्ती नहुँदा रातिको समयमा डियुटि बस्न नै समस्या हुने गरेको प्रहरीहरूको भनाई छ । 
पुलको सौन्दर्यता र बत्तीको विषयमा गुनासो सुनिन थालिए पछि वराहक्षेत्र नगरपालिका नगर प्रमुख रमेश कार्कीले स्थलगत अवलोकन गरेका छन् । सोमवार पुल पुगेका नगर प्रमुख कार्कीले पुलको रङ्ग रोगन र बत्तीको विषयमा सडक विभागलाई पत्राचार गरेर ध्यानाकर्षण गराउने बताए । पर्यटन र सुरक्षासँग पनि कोसी पुल जोडिएकाले यस विषयमा गम्भीरता पूर्वक लागिपर्ने नगर प्रमुख कार्कीको भनाई छ । निरीक्षणमा वडा नं १ का अध्यक्ष किसान मगर, प्राविधिक शाखाका प्रमुख इन्जिनियर राजु भट्टराई सहभागी भएका थिए । टोलीले पुलमा राखेको सिसी क्यामराको समेत अवलोकन गरेका थिए ।
पकली-भिमान तथा पकली-रुपनगर सडक खण्ड अन्तर्गत वैकल्पिक राजमार्गको रूपमा सडक निर्माण हुँदा नेपाल सरकारले कालिका कन्स्ट्रक्सन मार्फत उक्त पुल निर्माण गरेको थियो । पुलको उद्घाटन तत्कालीन प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाले २०७२ सालमा गरेका थिए । पुल निर्माण भएपछि निर्माण कम्पनीले उक्त पुल सडक विभागलाई हस्तान्तरण गरेको थियो ।