धरान : चौथो संस्करणको मिस्टर एण्ड मिस थारु २०२२ को आवेदन खुल्ला गरिएको छ । आयोजक जह इन्टरटेनमेन्ट प्रा.ली.ले एक प्रेस विज्ञप्ती जारी गर्दै नयाँ संस्करणका लागि आवेदन खुला गरिएको जनाएको हो । 
सहभागी हुन चाहने युवायुवतीहरूले आधिकारिक वेबसाइट रजिष्ट्रेशन डट जह इन्टरटेनमेन्ट डटकममा गई आवेदन दिन सकिने छ भने खल्ती एप मार्फत पनि आवेदन दिन सकिने जह इन्टरटेनमेन्ट प्रा.ली.का प्रमुख कार्यकारी अधिकृत सुरेश चौधरीले जानकारी दिए । खल्ती एपबाट आवेदन दिँदा १० प्रतिशत क्यासब्याक समेत सुविधा पाउने छन् । आवेदन शुल्क रु.६०० तोकिएको छ । आयोजकका अनुसार अडिसनको मितिदेखि एक दिन अगाडिसम्म फारम भर्न सकिने छ ।
मिस्टर एण्ड मिस थारुको आवेदन खुल्ला गरिएसँगै अडिसनको मिति समेत तय गरिएको छ । विगतजस्तै यस पटक पनि देशका मुख्य १० सहरहरूमा अडिसन हुँदै छ । अडिसन यही साउन २१ गतेदेखि सुरु हुँदै छ । पहिलो दिन सुनसरीको झुम्का, पर्साको वीरगन्ज, चितवनको भरतपुर र बाँकेको नेपालगन्जमा अडिसन हुने इभेन्ट डिरेक्टर जयस चौधरीले जानकारी दिए । 
यस्तै दोस्रो अडिसन साउन २४ गते मोरङको विराटनगर, सिराहाको लहान, कैलालीको टिकापुरमा एकैसाथ हुने छ । तेस्रो तथा अन्तिम अडिसन साउन २८ गते काठमाडौँ, दाङ र बुटवलमा एक साथ हुने चौधरीले जानकारी दिए । 
अडिसनबाट छनौट भएकाहरूलाई भदौमा अभिमुखीकरणमा सहभागी गराइने छ । त्यस लगत्तै काठमाडौँ बाहिर ग्राण्ड फिनाले गर्ने आयोजकको तयारी छ । लगातार दुई संस्करणको ग्राण्ड फिनाले काठमाडौँमा भएको थियो भने तेस्रो संस्करणको फिनाले चितवनमा भएको थियो । थारु बाहुल्यता भएका जिल्लाहरूमा ग्राण्ड फिनालेहरू गर्दै लैजाने तयारी भइरहेको जह इन्टरटेनमेन्ट प्रा.ली.निर्देशक रुपेश चौधरीले जानकारी दिए । सोही अनुरूप यस पटक पनि काठमाडौँ बाहिर नै ग्राण्ड फिनाले गर्ने तयारी भइरहेको छ । 
यस प्रतियोगिता सन् २०१७ देखि सुरुवात भएको थियो । पहिलो संस्करणको मिस्टर थारु चन्दन चौधरी भएका थिए भने मिस थारु जेनिशा चौधरी भएकी थिइन् । त्यस्तै २०१८ को मिस्टर थारु रविन चौधरी र मिस थारु आकृति चौधरी भएकी थिइन् । २०२१ मा भएको तेस्रो संस्करणको मिस्टर थारु प्रशान्त हुजदार र मिस थारु लिभा थारु भएकी थिइन् ।