धरान : फेशन हब नेपाल तथा ब्ल्याक पिग इन्टरटेनमेन्टको आयोजनामा सौन्दर्य प्रतियोगिता 'मिस धरान आइकन-२०२२' को आयोजना भइरहेको छ । प्रतिष्पर्धीहरुलाई आयोजकले र्‍याम्प वाल्क सहित विभिन्न अतिरिक्त क्रियाकलाप तथा सामाजिक कार्यमा सहभागी गराइरहेको छ । यस क्रममा आज शनिवार धरानको बिपी पार्क (ओसो पार्क) मा बृक्षरोपण कार्यमा सहभागी भएका थिए । धरानका मेयर हर्क साम्पाङ तथा धरानेहरुको सक्रियतामा भइरहेको बृक्षरोपण कार्यमा मिस धरान आइकनका प्रतिष्पर्धीहरु विभिन्न बिरुवासहित आज बिहान ८ बजे सहभागी भएका थिए । प्रतिष्पर्धीहरुलाई मेयर सम्पाङले आफ्नो कुराहरू सुनाउने क्रममा भक्कानिएर रोएका थिए। 
आफूलाई पाएको यो साथ र सहयोग सम्झिँदै मेयर साम्पाङले उपस्थित प्रतिष्पर्धीहरु र अन्य धरानेहरु माझ आशु रोक्न सकेनन् । बोल्ने कोसिस गर्दा गर्दै पनि नसकेपछि 'देश सोच्नुस्, देशकै लागि कर्म गर्नुस् र एक दिन मर्नुपर्दा पनि देशकै लागि मर्नुपर्छ भन्ने प्रेरणा दिन चाहन्छु' भन्दै बिदा भए । मिस धरान आइकनका प्रतिष्पर्धीहरुले आफै बिरुवाहरू रोपेका थिए । मिस धरान आइकन २०२२ मा १८ जना धराने सुन्दरिहरुको सहभागिता रहेको थियो ।
प्रतिस्पर्धामा धरान निवासी सेली श्रेष्ठ, देनिशा श्रेष्ठ, बिपीका लिम्बू, नमिता राई, सबु बराइली, सृष्टि लामा, शकुन्तला फुयाँल, निवा लिम्बू, प्रजना राई, रानु श्रेष्ठ, सुमिना बिक, स्वेच्छा मगर, श्वेता पोख्रेल, सारा गुरुङ, खुसी बस्नेत, प्रीति शाह, आशमाया राई र रोजनी लिम्बू सहभागी रहेका छन् । मिस तामाङ २०१९ प्रदेश १ विजेता तथा मिस टुरिजम क्विन वर्ल्ड वाइड २०१९ मा वेस्ट इस्माइलको टाइटल विजेता प्रोजिता लामाले मिस धरान आइकनको कोरियोग्राफी गरिरहेकी छन् भने परिकला फोटोग्राफीले यो सौन्दर्य प्रतियोगिताको फोटो तथा भिडियोग्राफी गरिरहेको छ । मिस धरान आइकन २०२२ मा विजेता, फर्स्ट रनर अप, सेकेन्ड रनरअप सँगै मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस चार्मिङ, मिस व्यूटिफुल स्वमाइल, र मिस पर्सनालिटी, मिस व्यूटिफुल कम्लेक्सन लगायतका विभिन्न सब-टाइटलको उपाधिसँगै विजेताहरूलाई आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।
मेयर हर्क साम्पाङको आफ्नै शब्द रहेको गीत 'देशकै कर्म गर्न सकूँ म, देशकै निम्ति मर्न सकूँ' । जुन गीतको अंश सुनाउने क्रममा  मिस धरान आइकनका प्रतिस्पर्धीसँग उनी बोल्दाबोल्दै भक्कानिएका थिए ।