धरान : ड्रिम मोड्लिङ्ग एजेन्सिको आयोजनामा हुन गइरहेको जुनियर मिस्टर एन्ड मिस धरान सिजन टुको उपाधिको लागि ट्यालेन्ट राउन्ड सम्पन्न भएको छ ।

धरान-१६ सियोन स्कुलको सभा हलमा शनिवार सम्पन्न ट्यालेन्ट राउन्डमा प्रतियोगितामा सहभागी ४५ जना बालबालिकाले आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । सहभागी प्रतिश्पर्धिहरुमा छात्र तर्फ ७ जना र छात्रा तर्फ ३८ जनाले सहभागिता जनाएका छन् ।

ट्यालेन्ट राउन्डमा सहभागीहरूले गायन मार्फत, नृत्य प्रस्तुति, कविता वाचन, अभिनय, पेन्टिङ र स्पिच मार्फत आफ्नो प्रतिभा देखाएका हुन । उनीहरू मध्ये उत्कृष्टलाई मिस्टर एन्ड मिस ट्यालेन्टको उपाधि विजेता घोषित गरिने छ । ट्यालेन्ट राउन्डमा गायक दिल्ली फोम्वो, मोडल मेरिना तुम्सा, धरान मेघा कलेजका होटल म्यानेजमेन्ट विभागका कोअर्डिनेटर पोषण श्रेष्ठ, भोजपुरी नायिका मेनुका माझी र नृत्य प्रशिक्षक रिमा थापा मगर निर्णायकको रूपमा रहेकी छन् । उपाधि विजेताको घोषणा प्रतियोगिताको फिनालेको दिन गरिने आयोजक ड्रिम मोडलिङ एजेन्सीका सिइओ  सौरभमान भण्डारीले जनाए ।

प्रतिस्पर्धामा सहभागीहरूको क्षमता विकासका लागि आयोजकले करिब एक महिना अघि देखि उनीहरूलाई विभिन्न क्षमता अभिवृद्धि तालिम दिइरहेको सिइओ भण्डारीले बताए । उनीहरूलाई स्टेज पर्फमको लागि कोरियोग्राफि तालिम, टेबल म्यानर, पब्लिक स्पिकिङ्ग, व्यत्तित्व  विकास, डान्सिङ्ग र सिङ्गिङ तालिम, व्याड टच, गुड टच, एजुकेशनल टुर, सेल्फ डिफेन्स तालिम लगायत प्रशिक्षण दिइरहेको इभेन्ट डाइरेक्टर निश्चल पालिखेले जानकारी गराए ।

प्रतियोगिताका विजेताले क्राउन, पन्ध्र हजार रुपैयाँ नगद, ट्रफि, सर्टिफिकेट, गिफ्ट ह्याम्पर र तिन लाख रुपैयाँ बराबरको लाइफ इन्सुरेन्स प्राप्त गर्नेछन् । त्यस्तै गरी फस्ट रनरअपले नगद दश हजार, दुई लाख रुपैयाँ बराबरको इन्सुरेन्स, सेकेन्ड रनरअपले नगद ५ हजार, एक लाख रुपैयाँ बराबरको इन्सुरेन्स, ट्रफि, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । उपाधि विजेताले सिधै जुनियर मिस्टर एन्ड मिस नेपाल भिड्ने अवसर समेत प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा ७ वर्ष देखि १४ वर्ष सम्मकाहरुले सहभागिता जनाएका छन् । कार्यक्रमको ग्राण्ड फिनाले साउन २८ गते शनिवार हुनेछ ।