इटहरी : इटहरीको जनता बहुमुखी क्याम्पसमा ६ विद्यार्थी सङ्गठनले आन्दोलन सुरु गरेको दुई महिना पुरा भएको छ । कर्मचारी नियुक्त प्रक्रियामा चलखेल भएको भन्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेर आन्दोलन जारी राखेका छन् । 
गत जेठ २९ गते बिना सूचना एकै दिन लिखित तथा मौखिक परीक्षा सञ्चालन गरेको आरोप लगाउँदै विद्यार्थी सङ्गठनले विरोध जनाएका हुन् । उता विद्यार्थी सङ्गठनको तालाबन्दीको विरोधमा व्यवस्थापन समितिले बुधवार पत्रकार सम्मेलनको आयोजना गर्‍यो । इतिहासमै पहिलो पटक विद्यार्थी सङ्गठनको विरोधमा व्यवस्थापन समितिले पत्रकार सम्मेलन आयोजना गरेको हो । 
पदपूर्ति समितिका संयोजक विकाश केसीद्वारा जारी विज्ञप्तिमा विज्ञापन प्रकाशित गरी सरकारी कर्मचारी र विज्ञको टोली मार्फत परीक्षा सञ्चालन र अन्तरवार्ता गरिएको बताइएको छ । यसबिचमा विद्यार्थी सङ्गठनले गरेको तालाबन्दीले परीक्षाफल प्रकाशित गर्न नसकिएको उनले बताएका छन् ।  
समस्या समाधानको लागी बनेको छानबिन समितिले विद्यार्थी सङ्गठनको कारण कुनै परिणाम निकाल्न नसकेको बताइएको छ। यसबिचमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत परीक्षाको विषयमा छानबिनको लागि कागजात माग गरेको र तालाबन्दीको कारण उपलब्ध गराउन नसकिएको विज्ञप्तिमा जनाइएको छ । 
व्यवस्थापन समितिको अध्यक्ष आफै गैरजिम्मेवार भएको आन्दोलनरत विद्यार्थी सङ्गठनको आरोप छ । विद्यार्थी सङ्गठनले आरोप लगाएको व्यक्ती स्वयम् छानबिन समितिको संयोजक बन्ने कुरा लज्जास्पद भएको उनीहरूको तर्क छ। नेकपा एमालेको सुनसरी अध्यक्ष र संविधानसभा सदस्य जस्तो गरिमामय पदमा भएका भण्डारीले कर्मचारी नियुक्तिको कार्यविधि समेत नबनाउनु दुःखद भएको उनीहरू बताउँछन् । 
नेकपा एमाले निकट अनेरास्ववियुका क्याम्पस कमिटी अध्यक्ष उज्ज्वल सिग्देल क्याम्पसले कुनै पनि सूचना प्रकाशित नगरी लिखित तथा मौखिक परीक्षा सञ्चालन गरेको आरोप लगाउँछन् । परीक्षाको लागि बोलाइएका विज्ञहरू राजनैतिक दलसँग जोडिएका व्यक्ती भएकाले प्रक्रिया नै गलत भएको उनले बताए । नियुक्ति प्रक्रिया बदर नभएसम्म क्याम्पस प्रमुखको कार्यकक्षमा लगाइएको ताला नखोल्ने उनले प्रस्ट पारे । 
व्यवस्थापन समिति क्याम्पसको हितकोलागी भन्दा व्यक्तिगत स्वार्थमा केन्द्रित भएको उनले बताए । अध्यक्ष भण्डारीको बाहिर एउटा कुरागर्ने र व्यवहारमा अर्कै कुरागर्ने प्रवृत्तिले समस्या बढाएको सिग्देलको तर्क छ । अहिलेको सम्पूर्ण प्रक्रिया खारेज गरेर नयाँ प्रक्रिया सुरु गरे पछि समस्या समाधान हुने उनले दोहोर्‍याए । 
उता नेपाल विद्यार्थी सङ्घले पनि अध्यक्ष भण्डारीको नेतृत्व निकम्मा भएको बताएको छ । नेविसंघ इकाई समिति सभापति सहदेव काफ्ले व्यवस्थापन समिति अध्यक्षको अडान स्पष्ट नहुनु र दोहोरो चरित्र देखिनुले आन्दोलनमा मलजल पुगेको बताउँछन् । प्रशासन सँग एउटा कुरा र विद्यार्थी सङ्गठन सँग अर्को कुरा गर्ने अध्यक्षको भूमिका गलत भएको उनले बताए । अध्यक्ष भण्डारीको नेतृत्व अक्षमताको कारण यो समस्या सृजना भएको उनको बुझाई छ ।
तथापि व्यक्तिगत स्वार्थमा केन्द्रित आन्दोलनले क्याम्पस र विद्यार्थी कसैलाई हित नगर्ने उनले प्रस्ट पारे । नातागोता भर्तीका लागि लक्षित आन्दोलनमा विद्यार्थी सङ्गठन प्रयोग हुनु गलत भएको उनी बताउँछन् ।
यसअघि पनि अध्यक्ष भण्डारीलाई विद्यार्थी सङ्गठनले क्याम्पस प्रवेश निषेध गरेका थिए । विद्यार्थीलाई नियोजित रूपमा प्रहरी नियन्त्रणमा पारेको भन्दै २०७६ मङ्सिर २३ गते अध्यक्ष सहित ५ जनालाई प्रवेश निषेध गरेका थिए । जुन जनता बहुमुखी क्याम्पसको इतिहासमै पहिलो घटना थियो । 
सञ्चालक समितिका अध्यक्ष रेवतीरमण भण्डारीलाई यस विषयमा बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।