चतरा : वराहक्षेत्र नगरपालिकाको चक्रघट्टिमा मोती जयन्तीको अवसरमा गजल महफिल आयोजना हुने भएको छ । वराहक्षेत्रमा साहित्यिक गतिविधिमा फरक आयाम ल्याउने प्रयास स्वरूप स्थानीय साहित्यिक संस्था पूर्वेली साहित्य मञ्चले वराहक्षेत्रमा पहिलो पटक 'गजल महफिल'को आयोजना गर्ने लागेको हो ।

नेपाली गजलका पिता भनेर चिनिने राष्ट्रिय विभूति तथा नेपाली साहित्यका युवा कवि मोतीराम भट्टको १५७ औँ जन्म जयन्तीको अवसरमा भाद्र ११ गते शनिवारका दिन उक्त महफिल आयोजना हुने आयोजक संस्था पूर्वेली साहित्यिक मञ्चका अध्यक्ष सन्तोष चौलागाईले बताए ।

आधुनिक नेपाली गजल क्षेत्रका चर्चित र रुचाइएका गजलकारहरूको उपस्थितिमा आयोजना गर्न लागिएको उक्त महफिललाई पूर्वेली महफिल नाम दिइएको मञ्चका अध्यक्ष चौलागाईंले जानकारी दिए । 

अध्यक्ष चौलागाईका अनुसार वराहक्षेत्रमा साहित्यिक गतिविधिहरू कम हुने र त्यसमा पनि बिशेषगरि कविता विधालाई प्राथमिकतामा राखिने परिपाटी रहेकोमा यसपटक केही फरक गरौँ भन्ने उद्देश्यले गजल महफिल आयोजना गरिएको हो।

उक्त महफिलमा आधुनिक नेपाली गजलमा चलेका पूर्वेली गजलकारहरू धनकुटाका ईश्वर दाहाल, झापाका लोकेन्द्र बञ्जरा तथा सुनसरीका रोमु अधिकारीका साथमा स्थानीय गजलकार चन्द्र थपलियालाई समेटिएको आयोजकले जानकारी दिएको छ ।