धरान : धरानमा धरान उपमहानगरपालिका आफैले साबुन उत्पादन गर्ने भएको छ । यसका लागि साबुन उद्योगको काम सुरु भएको छ । धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङको अभियान अन्तर्गत बन्न लागेको साबुन उद्योग निर्माणका लागि आज धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङ र उद्योग स्थापना हुने क्षेत्रका स्थानियबासीहरुसंग छलफल हुने भएको छ । 

धरान २० को भञ्याङ जाने सडकको दायाँ साइड पकुवा खोलाको दोभान सर्दु पुल पारीको खाली जग्गामा बन्न लागेको सो साबुन उद्योगको काम सुरु भएको साबुन उद्योगका प्रोजेक्ट म्यानेजर तर्कबहादुर मगरले बताए । उनका अनुसार अहिले सरसफाइ गर्ने काम सुरु भएको छ । स्थानियबासीसंगको छलफल पछि उद्योगको काम यो हप्ता भित्र अघि बढ्ने छ । 

धरानवासीलाई स्वरोजगार बनाउने मुख्य उद्देश्यका साथ थालिएको साबुन उद्योग बनाउने अभियान पनि धरानमा अहिले चलिरहेकै अभियानहरूको निरन्तरता हो । तर यसमा सरकारी लगानी करिब अढाई करोड हुने बताइएको छ । प्राविधिकहरुसंग छलफल र परामर्श भइरहेको र वातावरणीय अध्ययन अनुसन्धान पनि भइरहेकोले अव सरकारी अढाई करोड सँगै श्रमदानबाट बन्ने बताइएको छ । 

काम अघि बढेपछि उद्योगको सामाग्री खरिदको लागि बोल पत्र समेत आव्हान गरिने म्यानेजर मगरले बताए । साबुन बनाउनका लागि चाहिने उपकरणहरू खरिद गर्नका लागि बोलपत्र आव्हान गरिने छ ।