विराटनगर : शिल्पी थिएटरको प्रस्तुति ‘हिउँको पृथ्वी यात्रा’ नामक नाटक विराटनगर हाटखोला स्थित आरोहण गुरुकुलमा मञ्चन हुने भएको छ । नाटक भोलि शुक्रवारबाट तीन दिनसम्म मञ्चन हुनेछ ।
नदीको कथा बोकेको नाटक कालेबुङ पछि काठमाण्डौं लगायत नेपालका विभिन्न सहरहरूमा मञ्चन भइसकेको छ । बिहीबार आरोहण गुरुकुलमा पत्रकार सम्मेलन मार्फत लेखक तथा निर्देशक घिमिरे युवराजले ‘मुक्त रङ्गमञ्च’ अभियान अन्तर्गत यो नाटक तेस्रो रहेको जानकारी दिए । 
उनले भने, ‘यस नाटकमा नदीको कथा व्यथा समेटिएको छ । नदीले आफ्नो कथासँगै ज-जसलाई भेट्छ, उसको पनि कथा भन्छ । नाटक हेरेपछि सबै कुरा प्रष्ट हुन्छ ।’
मुक्त रङ्गमञ्च अन्तर्गत यो भन्दा पहिला ‘ठुला माछा साना माछा’ र ‘अलिकति उज्यालो’ नामक नाटक विभिन्न सहरमा सफलतापूर्वक मञ्चन गरिसकेको उनले बताए । 
सार्वजनिक ठाउँहरूलाई सृजनशील राख्ने र आम मान्छेको सृजनामा पहुँच पुगोस् भनेर ‘मुक्त रङ्गमञ्च’ अभियान सुरु गरिएको उनको भनाइ छ ।  
यो अभियान अन्तर्गत थिएटरमा मात्रै नभएर खुल्ला ठाउँमा पनि नाटक मञ्चन हुने गरेको उनको भनाइ छ । जसको लागि पहिला नै सेट निर्माण गरेर लिएर गएका हुन्छौँ, उनी भन्छन्, ‘जहाँ नाटक देखाउँछौँ, त्यहाँ केही समयमा नै सेट फिट हुन्छ ।’
घिमिरे युवराज र अमजद प्रवेजको लेखन तथा निर्देशनमा रहेको नाटकमा ९ जना कलाकारको अभिनय रहेको छ । 
नाटकमा पवित्रा खड्का, सङ्गीता उराँव, झकेन्द्र वि.सी., ज्योति पोखरेल, रविन परियार, गोविन्द ओली, हिमाल भुजेल, सुशीला लुहार र ज्याक बरालको अभिनय रहेको छ । यस्तै अनुप तिमिल्सिना र स्मारिका फुयाँलले प्रत्यक्ष सङ्गीत प्रस्तुत गर्नेछन् ।