धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको २९औँ वार्षिकोत्सव तथा १०९औँ वीपी जयन्ती शुक्रवार प्रतिष्ठानको उपकुलपति कार्यालयको प्राङ्गणमा एक कार्यक्रमका बिच भव्यताका साथ सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री एवं प्रतिष्ठानका सहकुलपति भवानी प्रसाद खापुङ रहेका थिए । कार्यक्रममा प्रदेश नं. १ का स्वास्थ्य मन्त्री जयराम यादवको पनि उपस्थिति थियो । यसका साथै विभिन्न राजनैतिक दलका नेता, प्रतिनिधि, सरकारी तथा गैह्र सरकारी निकायका प्रमुख एवं प्रतिनिधिहरू, विभिन्न शिक्षण संस्थाहरूका प्रतिनिधिहरू, नागरिक समाजका विशिष्ट व्यक्तित्वहरू लगायत प्रतिष्ठानका विभागीय प्रमुखहरू, शाखा प्रमुखहरू, शिक्षक, चिकित्सक, कर्मचारी एवं विद्यार्थीको सहभागिता रहेको थियो ।
कार्यक्रममा छिमेकी मित्र राष्ट्र भारतबाट आएका २१औँ वीपी मेमोरियल ओरेसन का विद्वत वक्ता पद्म श्री प्रा.डा.दिगम्बर बेहेराको पनि उपस्थिति थियो । उनका साथै विशेष अतिथिका रूपमा भारतको दिल्ली विश्वविद्यालयका प्राध्यापक डा.राजकुमारको समेत उपस्थिति रहेको थियो ।
नेपाल भारतको मैत्रीपूर्ण सहयोगमा २०५० सालमा तत्कालीन पूर्वाञ्चलको धरानमा स्थापना भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नेपालको मात्र नभएर दक्षिण एसियाकै स्वास्थ्य केन्द्रको एक प्रतिष्ठित संस्थाको रूपमा परिचित रहेको छ । यहाँ भारत लगायत पूर्वी नेपालका चार हजार भन्दा बढी बिरामीहरूले दैनिक रूपमा स्वास्थ्य सेवा लिइरहेका छन् ।
अनुभवी र विज्ञ चिकित्सकहरुद्धारा सेवा प्रदान हुने यस प्रतिष्ठानमा विश्वसनीय स्वास्थ्य उपकरणहरूबाट रोग परीक्षण र निदानका उपायहरू पत्ता लगाइने भएकाले पनि बिरामीहरूको विश्वासको केन्द्र बन्दै गएको यस प्रतिष्ठानले विश्व महामारीका रूपमा फैलिएको कोभिड १९ का बाबजुद पनि आफ्नो सेवा र सुविधालाई सदैव चुस्त दुरुस्त राख्न सफल भएको छ ।
प्रमुख अतिथि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री एवं प्रतिष्ठानका सहकुलपति भवानी प्रसाद खापुङ एवं प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीबाट प्रतिष्ठानको झन्डोत्तोलन गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो भने महामानव बीपी कोइरालाको तस्बिरमा कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरूबाट फुल माला सहित वहाँ प्रति श्रद्धा सुमन अर्पण गरिएको थियो ।
उक्त अवसरमा प्रमुख अतिथि लगायत आमन्त्रित विशिष्ट महानुभावहरू, पदाधिकारीहरू, शिक्षक, कर्मचारीहरूबाट प्रतिष्ठानको हाताभित्र रहेको बीपीको सालिकमा माल्यार्पण गरेका थिए ।
कार्यक्रममा प्रतिष्ठानका उपकुलपतिबाट स्वागत मन्तव्य व्यक्त गर्दै प्रतिष्ठानले हालसम्म हासिल गरेका उपलब्धिहरूका बारेमा जानकारी गराउनुका साथै यसका सञ्चालनमा देखा परेका चुनौतीहरूलाई सम्बद्ध सबैले एकजुट भई सामना गर्दै यस बृहत्तर विकासमा दृढतापूर्वक लागि पर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री एवं सहकुलपतिबाट आफ्नो मन्तव्यको क्रममा प्रतिष्ठानको विकासका लागि आवश्यक पर्ने सहयोग उपलब्ध गराउने विश्वास दिलाए । कार्यक्रममा प्रदेश नं. १ का स्वास्थ्य मन्त्री जयराम यादव एवं सङ्घीय सांसद जय कुमार राईबाट प्रतिष्ठानका हितका लागि आ आफ्नो साथ सहयोग रहने बताए ।
कार्यक्रमको अन्तमा प्रतिष्ठानका रजिस्ट्रार प्रा.डा.सूर्य प्रसाद सङ्ग्रौलाबाट प्रमुख अतिथि, विशेष अतिथि, अतिथि लगायत उपस्थित सबैमा प्रतिष्ठानको निमन्त्रणा स्वीकार गरी उपस्थित भएकोमा धन्यवाद ज्ञापन गरे ।




































































