अर्जुन काफ्ले / पथरी
पथरीशनिश्चरे प्रिमियर लिगमा सहभागी नयाँ टोली हो आइतबारे अस्त्र । पथरीशनिश्चरे ३ का क्रिकेट खेलाडी र युवाहरू यसटोलीका मालिक रहेका छन् । कुनै वेलाको चर्चित क्लब वीरेन्द्रनगर क्रिकेट क्लबको नेतृत्व तहमा रहेका र खेलाडी रहेका युवाहरू यस टोलीमा व्यवस्थापकीय जिम्मेवारीमा रहेका छन् ।
वीरेन्द्रनगर क्रिकेट क्लबमा रहेर व्यवस्थापकीय क्षमता देखाइसकेकाहरूले अहिले टोली हाँकिरहेका छन् । पहिलो पटक लिगमा सहभागिता जनाउँदै गरेको टोलीले नयाँ कार्य समेत थालनी गरेको छ ।
मङ्गलवार टोलीले आयोजना गरेको खेलाडी परिचयात्मक कार्यक्रममा टोलीका सचिव हेमन्त ओझाले टिमले अनुबन्धन गरेका खेलाडीको बिमा गरिएको जानकारी दिए ।
युनियन लाइफ इन्सुरेन्स कम्पनी मार्फत प्रति खेलाडी १ लाख बराबरको दुर्घटना तथा जीवन बिमा गरिएको हो । तेस्रो संस्करण सम्म लिग आइपुग्दा सम्भवतः खेलाडीको बिमा गर्ने  पहिलो टिम भएको दाबी ओझाको छ ।
त्यसैगरि अनुबन्धित खेलाडीको पारिश्रमिक टिमले वैकिङ्ग प्रणाली मार्फत भुक्तान गर्ने भएको छ। मङ्गलवार नै सबै खेलाडीको कामना सेवा विकास बैंकमा बैंक खाता खोलिएको छ । अघिल्ला संस्करणमा आबद्ध टोलीले खेलाडीलाई पारिश्रमिक नदिएको गुनासो आएकोले त्यस्तो हुन नदिन वैकिङ्ग प्रणाली मार्फत पारिश्रमिक भुक्तानी गर्न लागिएको अस्त्रका अध्यक्ष राजेश कुइँकेलले जानकारी दिए ।
मङ्गलवार गरिएको कार्यक्रममा टिममा आबद्ध खेलाडी सँग टिमले सम्झौता पत्रमा हस्ताक्षर गरेको छ भने टिममा अनुबन्धित खेलाडी,प्रशिक्षक र व्यवस्थापकलाई सोही कार्यक्रममा अनुबन्धन पत्र वितरण गरिएको थियो ।
टिमले  प्रशिक्षकको जिम्मेवारी दिलीप अधिकारीलाई  दिएको छ भने टिमको व्यवस्थापकमा सुरज राई रहने छन् । पहिलो पटक आबद्ध टोलीले राम्रो नतिजा ल्याउने टोलीका सदस्यले आस लिएका छन् । तेस्रो संस्करणकै कान्छा खेलाडी रिशव न्यौपाने टोलीमा रहेका छन् । टिमले मार्की खेलाडीका रूपमा द्रोणजंग बस्नेत र समित राईलाई अनुबन्धित गरिसकेको छ ।
गत सिजन क्लासिक हसन्दहका खेलाडी बस्नेत यस पटक आइतबारेमा अनुबन्धित भएका हुन भने समितले गत वर्ष वीरेन्द्रनगर स्टिल टाइगरवाट खेल खेलिसकेका छन् । तिन जना अन्डर १६ का खेलाडीलाई क्लबले भित्राएको छ । अनुभवी र नयाँ खेलाडीको फ्युजनले प्रतियोगिताको उपाधि जित्ने लक्ष्य टोलीले लिएको छ । सो कार्यक्रममा खेलाडीलाई आवश्यक खेल सामाग्री र जर्सी प्रदान गरिएको थियो । कार्यक्रममा टोलीका विनोद चौधरी लगायतले बोलेका थिए ।