• रश्मि प्रधान 
धरान : सुनसरी जिल्ला व्याडमिन्टन सङ्घको आयोजना एवम् त्रियोग व्याडमिन्टन धरानको सह-आयोजनामा असोज ६ देखि ८ गतेसम्म प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ।
मंगलबार पत्रकार सम्मेलन गर्दै सुनसरी जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा धरान-१३ स्थित अमर सेवा समाजको बहुउद्देश्यीय कबर्डहलमा प्रदेश १ स्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिता-२०७९ को सम्पूर्ण तयारी पुरा भएको प्रतियोगिताका संयोजक सुरेश नियोहाङ लिम्बुले जानकारी दिए ।
प्रतियोगितामा प्रदेश १ का १४ वटै जिल्लाका २०६ जना खेलाडीहरु तथा अफिसियलहरुको सहभागी हुने साथै जिल्लाको उत्कृष्ट खेलाडीहरूलाई सहभागिता गराई उच्चस्तरको प्रतिस्पर्धात्मक खेल प्रतियोगिता सञ्चालन गर्ने आयोजकले जानकारी दिएको छ । खेलको माध्यमबाट आपसी भाईचार, बन्धुत्व र आत्मीयताको विकास गर्नुका साथै तथा खेल पर्यटन प्रबर्द्धधनमा बढवा दिने प्रतियोगिताको उद्देश्य रहेको संयोजक लिम्बूले बताए।
समय सापेक्ष प्रतिस्पर्धात्मक खेलहरू आयोजना हुननसक्दा युवा प्रतिभाहरू पलायन भई समक्ष खेलाडी उत्पादनमा ह्रास आउने, खेलाडीको मनोबल गिर्दै जाने तथा नकारात्मकता सोचहरूको विकास हुँदै जाने भएकोले युवाहरूलाई खेलप्रति लगाव बढाउन र सक्षम खेलाडीहरु उत्पादन गरी भविष्यमा राष्ट्रिय एवं अन्तराष्ट्रियस्तरमा सुनसरी जिल्लाको पहिचान अझ मजबुत बनाउन प्रतियोगिताको आयोजना गरिएको उनको भनाइ छ ।
प्रतियोगितामा ७ विधामा खेल समावेश हुने भएको छ। प्रतियोगितामा राष्ट्रीयस्तरका रेफ्री तथा कोच किरणकार रजितकार धरानमा आउने भएका छन् । सुनसरीमा प्रदेश स्तरीय प्रतियोगिता पहिलो पट्क हुन लागेको लिम्बुले बताए।