इटहरी : काठमाण्डौको किंस लाउन्ज एण्ड बारले नक्कली प्रितम आचार्य देखाएर साङ्गीतिक कार्यक्रम गरेको भन्दै इटहरी उपमहानगरपालिकाले आपत्ति जनाएको छ । सम्बन्धित कलाकारको मन्जुरी सहभागिता बिना नै कृत्रिम प्रितम नामको कलाकारबाट साङ्गीतिक कार्यक्रम प्रदर्शन गरिनु गम्भीर बौद्धिक अपराध भएको बताएको हो । 

इटहरी उपमहानगरपालिकाले सद्भावना दूत नियुक्त गरेका आचार्यलाई खबरै नगरी किंसले साङ्गीतिक कार्यक्रम आयोजना गरेको हो । आचार्य इटहरीमै रहेको अवस्थामा काठमाण्डौमा कार्यक्रम भएको प्रति उनका अभिभावकले समेत आपत्ति जनाएका छन् । 
इटहरी ५ का आचार्य भारतीय प्रसिद्ध च्यानल जी टिभी बाट सन् २०१९ मा सञ्चालन भएको एक कार्यक्रममा लिटिल च्याम्प प्रतियोगितामा दोस्रो रनर अप भएका थिए । कात्तिक १ गते रात्रीको समयमा उनको नाममा अर्कै व्यक्तिले गीत गाएका सामाजिक सञ्जालमा सार्वजनिक गरिएको छ । यस्तो आपराधिक कार्यमा संलग्न सबैलाई कारबाहीको माग गर्दै इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलेले विज्ञप्ति जारी गरेका छन् ।
नेपाल सरकार गृह मन्त्रालय,जिल्ला प्रशासन कार्यालय सुनसरी र जिल्ला प्रशासन कार्यालय काठमाण्डौको नाममा बोधार्थ दिइएको विज्ञप्तिमा हरहमेसा कारबाही हुनुपर्ने उल्लेख गरिएको छ । मेयर पौडेलले यस विषयमा कारबाहीको लागि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह सँग पनि कुरा गरेको उनको सचिवालयले जनाएको छ । 
itahari-uphamanagar-ppppppp