• अर्जुन काफ्ले
पथरी : कीर्तिपुर सातबाघ पथरीशनिश्चरे प्रीमियर क्रिकेट लिगको फाइनलमा पुगेको छ । बिहीबारको पहिलो क्वालिफायरमा रोयल किङमाथी ८ रनको जित निकाल्दै सातबाघ तेस्रो संस्करणको पथरीशनिश्चरे प्रीमियर लिगमा फाइनल प्रवेश गरेको हो । 
लिगको पहिलो क्वालिफायरमा पराजित बनेको रोयलले दोस्रो क्वालिफायरमा क्लासिक एलाभेन हसन्दहको सामना गर्नेछ । इलिमेटरमा हिसाब किताब ट्राइडेन्सलाई पराजित गर्दै हसन्दह दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो ।
पहिलो क्वालिफायरमा सातबाघले दिएको १३४ रनको लक्ष्य पच्छाएको रोयल किङले २० ओभरमा ७ विकेट गुमाएर १२५ रन बनायो । रोयलका लागी दीपेश श्रेष्ठ ४९ रन बनाएर आउट भए । श्रेष्ठलाई विवेक मोक्तानको बलमा अस्विन महतले क्याच गरे । 
सातबाघका लागी रहर लामाले ३, विवेक मोक्तानले २, अनीश लुइँटेल र केलिन राईले १/१ विकेट लिए । त्यसअघि ब्याटिङ गरेको कीर्तिपुर सातबाघले २० ओभर खेल्दै ६ विकेट गुमाएर १३३ रन बनायो । अनीश लुइँटेलको अर्धशतकिय पारिमा सातबाघले सो योगफल बनायो । सातबाघका निधित राईले २७ रन बनाए । रोयल किङका दीपेश श्रेष्ठ र राज बस्नेतले २/२ विकेट लिए भने महेश कार्कीले १ विकेट लिए । अर्धशतक प्रहार गरेका अनीश लुइँटेल म्यान अफ दि म्याच घोषित भए । 
बिहीबार नै भएको इलिमेटर खेलमा क्लासिक एलाभेन हसन्दह विजयी हुँदै दोस्रो क्वालिफायरमा छनौट भएको छ। हिसाबकिताब ट्राइडेन्स माथि ५ विकेटको जित निकाल्दै हसन्दहले शुक्रवार हुने दोस्रो क्वालिफायरमा रोयल किङ सँग भेट पक्का गरेको छ । हिसाबकिताबले दिएको ११५ रनको लक्ष्य हसन्दहले १९ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्‍यो । हसन्दहका लागी सञ्जीव धिमाल ४४ र सोलोमन राई २५ रनको योगदान गरे । हिसाबकिताबका दिवस राजवंशी ३ र नेल्सन दंगालले २ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हिसाबकिताबले १८ ओभर १ बलमा अलआउट हुँदै ११४ रन बनायो । हिसाबकिताबका कप्तान पुरुषोत्तम न्यौपानेले र कैलाश श्रेष्ठले १९ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् । हिसाबकिताबलाई मध्यम अङ्कमा रोक्न हसन्दहका सञ्जीव धिमालले ४ विकेट लिए । सौगात भट्टराई र सुजन खत्रीले २/२ तथा बुद्ध आलेमगरले १ विकेट लिए । खेलको म्यान अफ दि म्याच ४४ रन बनाएर  ४ विकेट लिएका सञ्जीव धिमाल घोषित भए ।
बिहीबारको दोस्रो क्वालिफायर विजेताले फाइनलमा कार्तिक ६ गते कीर्तिपुर सातबाघ सँग उपाधिका लागी भिड्ने छ । पथरीशनिश्चरेका ८ वटा फ्रेन्चाइज क्रिकेट टिम सहभागी छन्। कीर्तिपुर सातबाघ अघिल्लो संस्करणको विजेता टोली हो । रोयल किङ पहिलो संस्करणको विजेता हो । सातबाघले तिन वटै संस्करणको फाइनल खेलेको छ ।