इटहरी : नेपाली काँग्रेस इटहरीका नेता कार्यकर्ताले केन्द्रीय नेतृत्व प्रति आक्रोश व्यक्त गरेका छन् । बिहीबार इटहरीमा आयोजित कार्यकर्ता भेला कार्यक्रममा नेताहरूले इटहरीलाई बेवास्ता गरेको बताएका हुन् । 
सुनसरी क्षेत्र नम्बर २ र ३ पर्ने इटहरीले एउटा पनि उम्मेदवार नपाएको भन्दै नेताहरूले आक्रोश प्रकट गरे । प्रतिनिधिसभा तर्फ २ मा इनरुवामा सिताराम मेहता र ३ मा विजय कुमार गच्छदार उम्मेदवार रहेका छन् । प्रदेश सभामा भने २ (क) र ३(क) दुवै क्षेत्रमा माओवादी केन्द्रलाई सघाउनुपर्ने भएको छ। 
केन्द्रीय नेतृत्वले विवेकपूर्ण निर्णय नगरेको भन्दै अधिकांश वक्ताले चेतावनीको शैलीमा अब पुस्तान्तरणको पक्षमा लाग्नुपर्ने बताए । पूर्व क्षेत्रीय सभापति मणिराम श्रेष्ठले अन्य क्षेत्रबाट समानुपातिक उम्मेदवार पनि बढी दिने तर इटहरीलाई एउटा पनि उम्मेदवार नदिनुले विभेदको राजनीति सुरु भएको बताए । क्षेत्रीय हिसाबमा पनि क्षेत्र नम्बर २ लाई उपेक्षा गरिएको उनले सुनाए । 
‘अब हामी यहाँ कार्यकर्ता भएर बसिराख्ने ? किन बस्ने हामी? हामीले राजनीति गाउँ गाउँ गएर गरेका छौँ । काँग्रेसको मूल्य मान्यतालाई गाउँमा प्रचार गरेका छौँ । तर चालीस जना पाखुरा भएको र दश वटा पजेरो लिएर गएको मान्छे देख्ने गाउँमा खटेको मान्छेलाई नदेख्ने यो परम्पराको अन्त्य भएन भने नेपाली काँग्रेसको अन्त्यको सुरुवात भइसकेको छ,’ उनले भने । 
प्रमुख अतिथि समेत रहेको प्रतिनिधिसभा उम्मेदवार गच्छदार प्रति इङ्गित गर्दै उनले भने, ‘तपाईँहरू समानुपातिकमा जानुहोस् । प्रत्यक्षमा हामी लड्ने हो । आफ्नो विचार सँगै अरूको विचारलाई पनि सम्मान गर्न अनुरोध गर्दै यदि काँग्रेस हार्‍यो भने तपाईँहरूको कारणले हार्दैछ भन्ने प्रस्ट पार्न चाहन्छु ।’
क्षेत्र नम्बर २(क) का सभापति सुवेक्छु देवानले पनि टिकट वितरणमा असन्तुष्टि देखाए । ‘हामी नेपाली काँग्रेसमा भएर निर्वाचन चाहिँ हँसिया हथौडामै हाल्नुपर्ने अवस्था आयो । समानुपातिक तर्फ एउटा पनि उम्मेदवार नदिएको कारण भोलि हामीले को उम्मेदवार लिएर घरदैलोमा हिँड्ने ?’ उनले प्रश्न गरे । 
राजनैतिक दलप्रति वितृष्णा जागेको बेला युवा पुस्तालाई अगाडी बढाउने विषयमा नेतृत्वले ध्यान दिनुपर्ने बताए । युवालाई ब्राण्डीङ गरेर सक्षम नेतृत्वको परिचय दिन आग्रह गरे । 
त्यससँगै महाधिवेशन प्रतिनिधि विकाश केसीले पनि केन्द्रीय नेतृत्वले विवेक नपुर्‍याएको धारणा राखे । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारमा इटहरीलाई उपेक्षा गरिएको उनको भनाई छ । 
कार्यक्रममा केन्द्रीय सदस्यहरू राजीव कोइराला, राजीव ढुङ्गाना कल्पना चौधरी, प्रतिनिधिसभा उम्मेदवार सिताराम मेहता लगायतले सम्बोधन गरेका थिए । प्रमुख अतिथि गच्छदारले कार्यकर्तालाई आश्वस्त पार्दै इटहरीका काँग्रेस कार्यकर्ता आफ्नो तागत भएको बताए ।