इटहरी : शुक्रवार नेपाली काँग्रेसका नेता डाक्टर मिनेन्द्र रिजाल सत्तारुढ गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भए । मङ्गलवार मात्र जन्मदिनको उपलक्ष्यमा पारिवारिक खुसीयालीको भिडियो सामाजिक सञ्जालमा राखेर खुसी साटेका उनी २ दिन पछि जन्मस्थान धरान पुगे । धरान पुगेकै दिन तिथिले उनको जन्मदिनको संयोग पर्‍यो । 
कार्यक्रममा सम्बोधनको क्रममा डा. रिजालको अनुहारमा तिन दिन अगाडीको खुसी दोहोरियो । सोही क्रममा उनले भने ‘जन्म स्थानबाट जन्म तिथिमा परिवर्तनको पक्षधर साथीको पक्षमा मत माग्दा मलाई गर्व महसुस भएको छ । धरान मेरो जन्मभूमि हो र आज जन्म तिथिका दिन यहीँ आउन पाउँदा खुसी भएको छु ।’
धरानमा जन्मिएका डा. रिजाल हाल मोरङका स्थायीबासी हुन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्रीमा पराजित भएपछि उनले रक्षामन्त्रीबाट राजीनामा दिएका थिए । मोरङ २ बाट यसअघि प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा रिजालले यस पटक टिकट पाउन सकेनन् । उनले टिकट नपाएको विषयमा सभापति शेरबहादुर देउवाको आलोचना भयो । 
शुभकामना मन्तव्य राख्ने क्रममा उनले आफूले टिकट नपाएकोमा कुनै दुःख नलागेको तर गठबन्धनमा उम्मेदवार पराजित हुँदा आफू दुःखी हुने उनले बताए । त्यसैले धरानका जनता एकजुट भएर गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे । गठबन्धनका उम्मेदवारलाई विजयी गराउन चुनावी अभियानमा देशैभर भ्रमण गर्ने उनले सुनाए ।
विगतमा धरान चलायमान सहर भएको स्मरण गर्दै उनले त्यही साख फर्काउन गठबन्धनमा उम्मेदवारको जित आवश्यक रहेको उनको तर्क छ । अवसर र सम्भावना भए पनि गलत पार्टी र व्यक्तिको नेतृत्वले त्यसको उपयोग हुन नसकेको उनले प्रस्ट पारे ।