झापा : मेमोरी किङ अर्पण शर्माले स्मरण शक्तिको विधामा दोस्रो विश्व रेकर्ड कायम गरेका छन् । युवाहरू माझ लोकप्रिय अर्पणले सो विश्व कीर्तिमानको प्रमाणपत्र लन्डनको 'वर्ल्ड बुक अफ रेकर्ड्स' को कार्यालयबाट नेपाल आए लगत्तै सार्वजनिक गरेका हुन् । 
पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई बधाई दिँदै नयाँ वर्ल्ड रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरेका छन् । १ मिनटमा ८३ वस्तुहरूको क्रम स्मरण गरेर रचेको यो विश्व कीर्तिमानको श्रेय उनी आफ्नो ध्यान साधना र मेमोरी टेक्निकहरूलाई दिन्छन् । 
शर्माले यस अघि सन् २०१५ मा १ मिनेटमा ४२ वस्तुहरूको क्रम स्मरण गरेर गिनिज बुकमा नाम लेखाएका थिए । 'यो विश्व रेकर्डको प्रमाण पत्र मेरो मात्रै नभई सम्पूर्ण नेपालीहरूको भएको महसुस गर्दै आगामी दिनहरूमा अझै वर्ल्ड रेकर्डहरू राखेर नेपालको नाम विश्व सामु फैलाउने बाचा गर्दछु' उनी बताउँछन् ।