धरान : सुनसरी क्षेत्र नं. १ (ख) प्रदेश सभा सदस्यतर्फ लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार रेवती रमण राईले शासक होइन सेवक भएर काम गर्ने कुरा घरदैलो कार्यक्रम मार्फत उद्घोष गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को तर्फबाट सुनसरी लोकतान्त्रिक बाम गठबन्धनका एक मात्र साझा उम्मेदवार रेवती रमण राई रहेका छन् । सुनसरी १ को (ख) तर्फबाट उम्मेदवारी दिएका रेवती रमण राई अहिले चुनावी अभियानमा होमिएका छन् । नयाँ चुनाव चिन्ह कलम लिएर मैदानमा नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रको भरोसामा अहिले नेकपा एकीकृत समाजवादी सुनसरीका सम्पूर्ण नेताकार्यकर्ताहरु चुनावमा होमिएका छन् ।
लोकतान्त्रिक बाम गठबन्धनको निर्वाचन परिचालन समिति सुनसरी १ मा रहेर रेवती रमण राई जिताउने अभियानमा नेकपा एकीकृत समाजवादीको तर्फबाट केन्द्रीय सदस्य तथा १ नम्बर प्रदेश मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जीवन राईले कमान्ड गरिरहेका छन् ।
चुनाव जित्ने आधारहरू धेरै भएको र नेकपा एमालेले जनता रुष्ट गतिविधि गरेकाले एक पटक जनताको सेवा गर्न पाउने कुरामा उम्मेदवार राई विश्वस्त छन् ।
घरदैलो कार्यक्रमलाई जोड दिएर होमिएका उम्मेदवार रेवती रमण राईलाई प्रत्यक्ष मतदान गर्न अनुरोध गर्दै नेपाली काङ्ग्रेसका प्रभावशाली नेताहरू पूर्व प्रदेश प्रमुख गोविन्द सुब्बा, पूर्व मेयर तिलक राई सहित नेकपा माओवादीका केन्द्रीय देखि स्थानीय तहका नेताकार्यकर्ताहरु समेत लागि परेका छन् ।
लोकतान्त्रिक बाम गठबन्धनको सुनसरी १ को प्रतिनिधि सभा सदस्यको उम्मेदवार माओवादी केन्द्रका मुक्सामहाङ्ग मेन्याङ्बो र सुनसरी १ (क)प्रदेश सभा सदस्यको उम्मेदवार नेपाली काङ्ग्रेसका उमेश थापा रहेका छन् ।
        
                    
        
                                        
                                                                                                
        
                
        
        
















        
        
















































