इटहरी : मोरङ क्षेत्र नम्बर २ बाट नेपाली काँग्रेस नेतृ सुजाता कोइराला पराजित भएकी छिन् । नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेल सँग पराजित भएकी कोइराला गिरिजा प्रसाद कोइराला पुत्री हुन् । पोखरेल सँग १२०८ को झिनो मतान्तरले पराजित भएकी कोइरालाको संसदीय भूमिकामा पूर्णविराम लागेको छ ।  

गिरिजा प्रसादको विरासतकै बलमा चुनावी मैदानमा होमिएकी उनी अन्ततः पराजयको सिकार भइन । सोही क्षेत्रबाट २०७४ का वाम गठबन्धन हुँदा समेत काँग्रेसका डाक्टर मिनेन्द्र रिजाल विजयी भएका थिए । यस पटक पनि रिजालले टिकट पाउने सम्भावनाका बिच कोइरालाले टिकट पाइन । समानुपातिक उम्मेदवार बन्न गरिएको आग्रह अस्वीकार गर्दै रिजाललाई टिकटमा पछि पारेकी कोइरालाको संसद् छिर्ने सपना अधुरो भएको छ । 
पहिलो संविधानसभा निर्वाचन २०६४ को सुनसरी क्षेत्र नम्बर ५ बाट पराजित भएकी कोइराला दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिक सुचीबाट सांसद भइन् । त्यही समयमा परराष्ट्र मन्त्री समेत भएकी उनी गिरिजा प्रसादको उत्तराधिकारीको रूपमा उदाइन् । 
गिरिजाको विरासतकै बलमा काँग्रेस भित्र छुट्टै समूह चलाउँदै आएकी उनी पछिल्लो समय कमजोर भूमिकामा पुगेकी छिन् । १४ औँ महाधिवेशनका आफ्नै दाजु डाक्टर शेखर कोइरालालाई सहयोग नगरेपछि उनले चलाएको टिम भित्र असन्तुष्टि बढ्दै गयो । प्रकाशमान सिंह समूहबाट उपसभापतिको उम्मेदवार दिएर कोइराला पराजित भइन् । पहिलो चरणमा सभापतिका उम्मेदवार कसैले पनि बहुमत ल्याउन नसकेपछि कोइराला र सिंहले शेरबहादुर देउवालाई समर्थन गरेका थिए । सोही समर्थनको कारण डा शेखर सभापति बन्न नसकेको कार्यकर्ताको अनुमान छ । 
डा शेखरको समूहबाट महामन्त्रीको उम्मेदवार रहेका डा.रिजाल पराजित भए । सभापति देउवालाई पराजित गर्नैपर्छ भन्ने अभियानमा रहेका डा.  रिजाललाई सुजातालाई उम्मेदवार बनाएर बदला लिएको कार्यकर्ताले अनुमान गरेका छन् । टिकट नपाएपछि डा. रिजालले पनि धेरै स्थानमा सभापति देउवाले रिसिविको कारण टिकट नदिएको बताए । 
वाम गठबन्धन भएको समयमा मोरङको ६ मध्ये एउटा मात्र क्षेत्रमा उनी डा रिजालले जित निकालेका थिए । यस पटक माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सँगको गठबन्धनमा समेत कोइराला पराजित हुन पुगेकी छिन् । गिरिजा प्रसादको विरासतको बलमा चुनाव जित्ने रणनीतिमा रहेकी उनलाई नराम्रो धक्का लागेको छ ।  
काँग्रेस उम्मेदवारको पक्षमा देशव्यापी अभियान चलाएका डा. रिजालले कोइरालाको पक्षमा खुलेर मत नमागेको कार्यकर्ताको गुनासो छ । डा. रिजालको भाग खोस्न आएको बुझेका केही कार्यकर्ताले समेत कोइरालालाई सहयोग नगरेको स्थानीय नेताहरू बताउँछन् । जसको कारण कोइराला पराजयको सिकार भइन् ।