धरान : विजयपुर स्थित केन्द्रीय प्रविधि क्याम्पस परिसर हात्तीसारमा धरानको अर्को घण्टाघर निर्माण कार्य धमाधम भइरहेको छ । भानुचौक स्थित धरान घण्टाघरकै स्वरूपको यो घण्टाघर भने प्यागोड शैलीमा ४ तलाको हुनेछ । धरान घण्टाघरमा गुम्बज सहित ६ तला छ, जहाँबाट बजार अवलोकन गरिन्छ । हात्तीसार घण्टाघरमा भने गुम्बज तथा धरान घण्टाघरको जस्तो सुविधा नहुने बताइएको छ । 

क्याम्पस स्थापना भएको पचासौँ वर्ष पुगेको अवसरमा स्वर्ण महोत्सव स्मारक स्वरूप हात्तीसार घण्टाघर निर्माण गर्न थालिएको हो । केन्द्रीय प्रविधि क्याम्पस नेपालकै पहिलो खाद्य प्रविधि क्याम्पसको रूपमा स्थापना भएको थियो । गएको साउनमा क्याम्पसले स्थापनाको पचासौँ वर्ष पुरा गरेको छ । घण्टाघर निर्माण पुरा भएपछि आयोजना गरिने स्वर्ण महोत्सवमा त्यसको उद्घाटन गरिने क्याम्पस प्रमुख दिलकुमार लिम्बुले बताए । 

क्याम्पसको सेमिनार हल सहितको मुख्य भवन प्रवेशद्वारमा घण्टाघर निर्माणाधीन अवस्थामा रहेको छ । यसले क्याम्पसको मुख्य भवनलाई थप आकर्षक बनाउने छ । घण्टाघरको तलाका कोठाहरू ११ स्क्वायर फुटकाका फराकिलो हुनेछन् । घण्टाघरको डिजाइन इन्जिनियरिङ क्याम्पसका आर्किटेक्ट प्राध्यापक कुवेर श्रेष्ठले गरेका हुन् ।

उनका अनुसार घण्टाघरलाई मौलिक र आकर्षक बनाउन प्यागोड शैली दिइएको हो । घण्टाघरका भित्ताहरूमा काठमा खोपिएका टुँडाल चित्रकलाहरू रहने छन् । भवन सँगै निर्माण गरिएकोले घण्टाघरमा ३ दिशातर्फ मात्र घडी रहनेछ । पूर्वतर्फ भवन रहेकाले घडी भवन प्रवेश स्थल पश्चिम, उत्तर र दक्षिणमा देखिने छन् । घडीले देखाउने समय टाढाबाटै देखिने गरी एक मिटर वर्गाकारको घडी बनाउन भारतमा अर्डर गरिएको छ ।

हात्तीसार क्याम्पस नेपालमा शैक्षिक पर्यटनको गन्तव्य भएकोले पनि यहाँका भौतिक पूर्वाधारहरू नमुनाको रूपमा बन्नुपर्ने उनले बताए । स्थानिय भूगोलमा बजार अवलोकन स्थलको उचाइमा रहेको हात्तीसार स्थित क्याम्पस धरान घुम्न आउनेहरूका लागि आकर्षक स्थलको रूपमा रहेको छ । यसलाई घण्टाघरको निर्माणले थप सौन्दर्यीकरण गर्ने निश्चित छ ।

घण्टाघर निर्माणको कुल लागत ३२ लाख रुपैंया लाग्ने दुई वर्षअघि अनुमान गरिएको थियो । आर्किटेक्ट इन्जिनियर श्रेष्ठका अनुसार निर्माण सम्पन्न भइसक्दा यसमा १५ देखी २० प्रतिशत लागत बढ्ने अनुमान गरिएको छ । यो सम्पूर्ण लागत क्याम्पस प्रमुख दिलकुमार लिम्बुले आफ्ना स्वर्गीय माता, पिताको स्मृतिमा लगानी गरेका हुन् । क्याम्पस प्रमुख भएको नाताले क्याम्पसको विकास र स्थायित्वका लागि सक्दो आर्थिक लगानी पनि गर्नुपर्छ भन्ने भावनाले परिवार सहितको लगानीमा घण्टाघर निर्माणमा लगानी गरेको लिम्बुले बताए ।

क्याम्पस प्रमुख लिम्बु सहित उनका छोरा ललिजंग लिम्बु, बहिनी शान्ति लिम्बुले घण्टाघर निर्माणमा लाग्ने खर्चमा आर्थिक योगदान गरेका छन् । क्याम्पस प्रमुख लिम्बुका स्वर्गीय मातापिताको स्मृतिमा घण्टाघर निर्माण गरिएको हो । उनका स्वर्गीय पिता टिकाराम लिम्बुको सन् १९७२ मा र माता हिमवती लिम्बुको सन् १९६० मा निधन भएको थियो ।

क्याम्पस प्रमुख दिलकुमार लिम्बुले पारिवारिक लगानीमा क्याम्पसको भौतिक संरचना निर्माण गरेर नयाँ सुरुवात गरेका छन् । यसले क्याम्पसको भौतिक पूर्वाधार विकासमा व्यक्तिगत दाताहरूका लागि पनि योगदानका लागि ढोका खुला गरेको छ । क्याम्पसले हात्तीसार परिसरमा छात्रबास निर्माणका लागि कसैको स्मृतिमा भवन, कोठा निर्माणका दाताहरूलाई योगदान गर्न आव्हान गरेको छ । त्रिविको स्वायत्तता नीति अनुसार क्याम्पस स्वायत्ततामा गएको डेढ दशक नाघेको छ । स्वायत्त नीति अनुसार क्याम्पसले स्थानिय साधन श्रोत सम्पत्ति जुटाउन सक्छ ।

hattisar-ghantaghar-2