धरान : फोटो पत्रकार लक्ष्मण थापालाई आज आयोजित एक समारोहका बिच गिरिराज आचार्य सृजनशील पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ । धरान स्थित नेपाली काँग्रेस पार्टी कार्यालयमा प्रमुख अतिथि काँग्रेस प्रदेश १ का महामन्त्री उमेश थापाले उनलाई पुरस्कार प्रदान गरेका हुन । पुरस्कारको राशि २० हजार रुपैयाँ र सम्मान पत्र थापालाई प्रदान गरिएको हो ।

५१ वर्षीय पत्रकार थापाले २०५७ साल देखी फोटो पत्रकारितामा प्रवेश गरेका हुन । धरानबाट प्रकाशित डेली मर्निङ पोष्टबाट पत्रकारिता सुरु गरेका उनले काठमाण्डौबाट प्रकाशित हुने स्पेस टाइम्स, राजधानी दैनिक, विश्वदिप साप्ताहिकमा काम गरेका थिए । कपुरी अनलाइन तथा स्थानिय दैनिक, साप्ताहिक पत्रिकामा काम गरेका थापाले हाल आफ्नै ‘बुढासुब्बा न्युज’ युट्युब च्यानल सञ्चालन गर्दै आएका छन् ।

नेपाल प्रेस युनियन र नेपाली काँग्रेस धरान नगर समितिले प्रदान गर्दै आएको उक्त पुरस्कार धरानका पूर्व मेयर तिलक राईले स्थापना गरेका हुन् । उपमहानगरपालिकाबाट मेयरले पाउने तलब, भत्ता, सुविधाको रकम आफूले नलिने तर सामाजिक कार्यमा खर्च गरिने घोषणा गरेका राईले सोही रकम मध्येबाट २ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।

नेपाली काँग्रेस सुनसरीका संस्थापक सचिव, प्रेस युनियन सुनसरीका संस्थापक धरानका अग्रज पत्रकार गिरिराज आचार्यको सम्मानमा पुरस्कार प्रदान गर्न अक्षयकोष स्थापना गरेका हुन । कोषबाट प्राप्त हुने व्याजको रकमबाट बर्सेनि एक जना पत्रकारलाई पुरस्कार प्रदान गरिँदै आएको छ । उक्त पुरस्कार पहिलो पटक धरानका पत्रकार भैरव आङगलालाई प्रदान गरिएको थियो ।

प्रायः सम्मान र पुरस्कारहरू समाजमा योगदान पुर्‍याएकाहरूको शेषपछि मात्र संस्थापन गरिने चलन छ । जीवनकालमै सम्मान प्रदान गरिनुपर्ने धारणा अघि आइरहेका बेला अग्रज साहित्यकार, पत्रकार र राजनीतिक अगुवा आचार्यको नाममा पुरस्कार स्थापना गरिएको हो । नेपाली काँग्रेसको राजनीति, नेपाली साहित्य र पत्रकारितामा बराबर योगदान गर्दै आएका गिरिराज आचार्य पुरस्कार वितरण समारोहमा उपस्थित थिए ।

laxman-thapa-photo-next