विराटनगर : प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङले शरीरका अङ्गमध्ये आँखा सबैभन्दा महत्त्वपूर्ण रहेको बताएका छन् । विराटनगर उपमहानगर १४, रानीस्थित हाजी आँखा अस्पतालको समुद्घाटन गर्दै प्रदेश प्रमुखले सो कुरा बताएका हुन ।
अस्पताल स्थापनाले मुलुकमा स्वास्थ्य तथा आर्थिक क्षेत्रमा योगदान हुने प्रदेश प्रमुखको भनाई थियो । हाजी आँखा अस्पतालले नेपाल तथा भारतको विहार प्रान्तका धेरै सेवाग्राहीहरू लाभान्वित बन्ने कुराले आफू हर्षित भएको प्रदेश प्रमुख खापुङले बताए ।
विशेष अतिथि रहेका प्रदेश सरकारका स्वास्थ्य मन्त्री जयराम यादवले विराटनगरमा खोलिएका यस्ता अस्पतालको सेवाग्राही भारतमा पनि धेरै भएका तर नोट सटहीको उचित व्यवस्थापन नहुँदा समस्या पर्ने भएकाले यस्ता समस्यालाई सुल्झाउनमा पहल गरिनुपर्ने बताए ।
नवनिर्वाचित प्रदेशसभा सदस्य गयानन्द मण्डलले हाजीको धेरै गहिरो अर्थ रहेको र यसै नामबाट आँखा अस्पताल खोलिएकोले आफ्नो कर्तव्यमा सदैव तैनाथ रहनुपर्नेमा जोड दिए।
नेपाल पत्रकार महासङ्घ, मोरङका अध्यक्ष सञ्जीव खनालले अस्पताल सेवामुखी हुने तर सङ्ख्या बढ्दै जाँदा व्यापारमुखी हुनसक्ने कुरालाई औँल्याउँदै यस्ता कुरामा सचेत रहन आग्रह गरे ।
कार्यक्रममा सञ्चालक तेजलाल कर्ण, महेश रेग्मी, भीमप्रसाद घिमिरे तथा हाजी कादिर अन्सारीले पनि मन्तव्य राखेका थिए ।




































































