इटहरी : आन्तरिक राजस्व कार्यालय इटहरीले छड्के अनुगमन गरेको विरुद्धमा इटहरीका व्यवसायीहरूले सोमबार दिउसो आन्तरिक राजस्व कार्यालय घेराउ गरेका छन् । छापामार शैलीमा खुद्रा तथा होलसेल पसलहरूमा अनुगमन गरेर अनावश्यक दुख दिएको भन्दै व्यवसायीहरू विरोधमा उत्रिएका हुन् । 
होटेल व्यवसायी सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुलीका अनुसार उद्योग वाणिज्य सङ्घका पदाधिकारी र स्थानीय सरकारका प्रतिनिधि बिना नै अनुगमन गरिएकोमा विरोध जनाइएको हो । पछिल्लो समय व्यापार व्यवसायमा मन्दी छाएको बेला छापामार शैली अपनाउनु गलत भएको उनले बताए । 
आन्तरिक राजस्व कार्यालय इटहरीका कर अधिकृत अर्जुन कुमार न्यौपानेले अनुगमन नियमित प्रक्रिया भएको प्रतिक्रिया दिए । कुनै छापामार शैलीमा अनुगमन नगरेको र व्यवसायीहरूबाट कर छली हुने गरेको सूचना प्राप्त भएपछि अनुगमन गरिएको उनले प्रस्ट पारे ।