धरान : धरान उपमहानगरपालिका मेयर हर्कराज राईलाई ‘अभिभावकीय भूमिका निर्वाह गर्न छाडेर कार्यपालिका सदस्यहरूलाई धम्क्याउने तवरले राजीनामा दिनु भनी प्रयोग गरिएको शब्द फिर्ता लिई संवाद र छलफलद्वारा समाधान खोज्न र सामूहिक नेतृत्व सहितको समन्वय, सद्भाव र सहकार्यको अवधारणा अनुरूप अगाडि बढ्न’ छ वटा राजनीतिक दलले संयुक्त रूपमा सुझाव दिएका छन् ।

उपमहानगरपालिकाको कार्यपालिका बैठकमा निर्वाचित जनप्रतिनिधिलाई आफ्नो मत राख्न नदिएको घट्नाले उत्पन्न विवादमा कार्यपालिका सदस्यहरूले आफूहरूको अपमान भएको महसुस गर्नु स्वाभाविक भएको उल्लेख गर्दै नेतृत्वको हैसियतमा समस्या समाधानको पहल लिने अवस्थामा कार्यपालिका सदस्यहरूलाई धम्क्याउने शब्द मेयरबाट प्रयोग भएकोमा गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रमुख दलहरूका स्थानिय नेतृत्वहरुले संयुक्त विज्ञप्ति मार्फत उक्त सुझाव दिएको हो । 

नेकपा एमालेका धरान नगर अध्यक्ष हर्कजंग एभेङ, नेपाली काँग्रेस धरान नगर सभापति श्याम पोखरेल, नेकपा ९माओवादी केन्द्र०का नगर इन्चार्ज चोत्लुङ (फोक्वाहाङ सुब्बा), जसपा नेपाल धरानका अध्यक्ष ताजुब लिम्बु, नेकपा (एकीकृत समाजवादी) धरानका अध्यक्ष रेवती रमण राई र राष्ट्रिय प्रजातन्त्र पार्टी धरानका कार्यवाहक अध्यक्ष दोर्जे शेर्पाले आज आइतबार संयुक्त विज्ञप्ति जारी गरेका हुन ।

विज्ञप्तिमा भनिएको छ ‘हजारौँ शहीदहरूको बलिदान, लाखौँ लाख पार्टी कार्यकर्ताहरू र नेपाली जनताको रगत पसिनाबाट स्थापित भएको लोकतान्त्रिक व्यवस्थामा एउटा जनप्रतिनिधिलाई आफ्नो मत राख्न नदिएको घट्नाले धरान उपमहानगरपालिकामा स्वेच्छाचारी, अप्रजातान्त्रिक सर्वज्ञानी म मात्र हो भन्ने मपाईतन्त्र, दम्भ र उद्दण्ड सहितको अधिनायकवाद उदय हुन लागेको आभास भएको छ ।’

२०७९ असोज १३ गते धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा प्रस्तुत एजेण्डा माथि कार्यपालिका सदस्य अनुप देवानले आफ्नो राय राखिरहँदा बैठकको अध्यक्षता गरिरहनु भएको नगर प्रमुख हर्कराज राईले कार्यपालिका सदस्य अनुप देवानलाई राय राख्न नदिई बैठक छाडेर बाहिर जान भनेपछि सम्पूर्ण कार्यपालिका सदस्यहरूले आफूहरूको अपमान भएको महसुस गर्नु स्वाभाविक हो, भनी विज्ञप्तिमा भनिएको छ ।

अहिलेको धरान उपमहानगरपालिकाको निर्वाचित जनप्रतिनिधिहरूको समीकरण हेर्दा धरानको विकास र समृद्धिको लागि सबैको सहकार्य र समन्वय झन् जरुरी भएको उल्लेख गर्दै विज्ञप्तिमा मुलुक नयाँ परिवर्तनलाई संस्थागत गर्ने चरणमै रहेको बेला केही तत्त्वहरूको सलबलाहट सुरु भएकोले त्यसप्रति गम्भीर हुन आग्रह पनि गरिएको छ ।

press release of party 6