धरान : नेपाली साहित्यका शिरोमणि कवि लेखनाथ पौड्यालको १३९ औँ जन्म जयन्ती आज शुक्रवार बिहान धरानमा उनको शालिकमा माल्यार्पण गरी मनाइएको छ । कवि शिरोमणि साहित्य साधना समाजले धरान-१६ लेखनाथ चौक स्थित शालिकमा माल्यार्पण एवं संक्षिप्त परिचर्चा कार्यक्रम आयोजना गरी जन्म जयन्ती मनाइएको हो ।

कवि लेखनाथ पौड्याललाई २००८ सालमा तत्कालीन सरकारले ‘कविशिरोमणि’ उपाधि प्रदान गरेको थियो । उनलाई सम्मानित गर्न २०११ सालमा रथयात्राको आयोजना गरी काठमान्डु सहर परिक्रमा गराइएको थियो । उनको जन्म १९४१ पुष १५ गते तथा निधन २०२२ साल फागुन ७ गतेका दिन भएको थियो ।

लेखनाथको परिचर्चा गर्दै पूर्व प्रदेश प्रमुख प्रा.डा. गोविन्द तुम्बाहाङले कविशिरोमणिको रथयात्रा न भूतो न भविष्यतीः भने झैँ स्मरणीय रहेको बताए । उनका अनुसार रथ तान्नेहरूमा तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइराला, महाकवि लक्ष्मीप्रसाद देवकोटा, नाटक सम्राट् बालकृष्ण सम रहेकोले त्यो रथयात्रालाई इतिहासमा नदोहोरिने घटना मानिनु पर्दछ । अङ्ग्रेजी साहित्यका कवि जोन राइडनलाई सन् १६६० मा रथयात्रा गरी सम्मानित गरिएको दुई सय वर्षपछि कविशिरोमणिको रथयात्रा भएको उनले बताए ।

प्रा.डा.टङ्कप्रसाद न्यौपानेले कविशिरोमणि जीवनकालमै रथयात्रा गरी सम्मानित भएका पहिलो साहित्यकार भएको बताउँदै रथयात्राको लागि स्वर्गीय सत्यमोहन जोशीले निर्णायक भूमिका खेलेको उल्लेख गरे । जोशीको घरमा भएको साहित्यकारहरूको जमघटमा मरेपछि मात्र सम्मान गर्ने प्रचलन हटाउन साहित्यकारलाई जीवनकालमै सम्मान गरिनुपर्ने विषयमा छलफल भयो । सोही छलफलको निष्कर्ष स्वरूप कविशिरोमणिको रथयात्रा आयोजना भएको कुरा न्यापानैले सत्यमोहन जोशीसँग भएको भेटको प्रसङ्ग उद्धृत गर्दै बताए । साहित्यकारलाई जीवनकालमा सम्मान गर्ने चलन कविशिरोमणिको रथयात्राबाट सुरु भएको प्रा.डा. न्यौपानेको भनाई छ । 

कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिका उपमेयर आइन्द्रबिक्रम बेघा थिए । उनले स्कुले जीवनमा पढेको लेखनाथका कविताहरूले गहिरो प्रभाव पारेको बताउँदै कतिपय कविताहरू अहिले पनि कण्ठाग्र रहेको उल्लेख गरे । प्रा.डा.गोपाल भण्डारी, हरिप्रसाद दाहालले कविशिरोमणि लेखनाथका कविताहरूमा नेपाली समाजमा विद्यमान असमानताप्रति विद्रोहको प्रतिविम्ब पाइने बताए । उनले बालबालिकाहरूका लागि पनि कविता लेखेका उल्लेख गर्दै ती कालजयी कविताहरूबाट नयाँ पिँढीले प्रेरणा लिनुपर्नेमा जोड दिएका थिए ।  

समाजका सभापति सिद्धिकर्ण शर्माको सभापतित्वमा भएको परिचर्चा कार्यक्रम प्रा.डा.महानन्द तिम्सिनाले सञ्चालन गरेका थिए । समाजले आउँदो माघ ७ गते लेखनाथ जयन्ती मनाउन खुल्ला कविता प्रतियोगिता आयोजना गरिने जनाएको छ ।

lekhanath-jayanti-dharan--1