चतरा : वराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्कीले वराहक्षेत्रको विकास र समृद्धिका लागि सबै राजनीति दलहरू एक भएर लाग्नु पर्ने बताएका छन् । वराहक्षेत्र नगरपालिका कुनै एउटा राजनैतिक दलको प्रयत्नले मात्र विकास सम्भव नहुने बताउदैं विकास र समृद्धिलाई सबैले साझा मुद्दा बनाउनु पर्ने नगर प्रमुख कार्कीको भनाइ रहेको थियो ।
आइतबार नगरपालिकाको कार्यालयमा ध्यानाकर्षण गराउन आएको नेकपा एमाले वराहक्षेत्र नगर कमिटीको टोलीलाई सम्बोधन गर्दै नगर प्रमुख कार्कीले राजनैतिक आग्रह पूर्वाग्रह त्यागेर वराहक्षेत्रको विकासमा हाते मालो गर्न राजनीति दल र सरोकारवाला पक्षलाई आव्हान समेत गरेका थिए । निर्माणाधीन विकास निर्माणमा सबैले चासो र खबरदारी आवश्यक रहेको बताउँदै नगरपालिकाले गर्ने कार्यसम्पादनमा राजनैतिक आग्रह पूर्वाग्रह नराखिने नगर प्रमुख कार्कीको भनाई रहेको थियो ।
नगर प्रमुख कार्कीले भने -"नगरपालिकाले शिक्षा, स्वास्थ्य, रोजगारी, सडक, पूर्वाधार र धार्मिक क्षेत्रको विकासमा योजना बनाएर काम गर्नेछ । यसकालागि सबैको सहयोग चाहिन्छ । भौतिक निर्माणको पक्षमा सबैको खबरदारी आवश्यक छ । बजेट निर्माण गर्दा सकारात्मक र रचनात्मक सहयोग चाहिन्छ । यसकालागि सबै राजनीति दल, बुद्धिजीवी, शिक्षासेवि, सरोकारवाला पक्षसँग छलफल र परामर्श लिनेछु ।"
उक्त ध्यानाकर्षण कार्यक्रममा नेकपा एमाले वराहक्षेत्रका अध्यक्ष गजेन्द्रबहादुर थापाले दुई पेजको पत्र नगर प्रमुख कार्कीलाई हस्तान्तरण गरेका थिए।