धरान : विद्यालय आसपास रहेका थोक तथा खुदरा पसलेहरूले विद्यार्थीलाई चुरोट, खैनी, गुट्खा जस्ता वस्तु विक्री वितरणमा स्थानिय सरकार धरान उपमहानगरपालिका वडा नं.६ वडा कार्यालयले एक सूचना जारी गर्दै प्रतिबन्ध लगाएको छ ।

वडा कार्यालयले बिहीबार जारी गरेको सूचनामा किशोर किशोरी विद्यार्थीको स्वास्थ्यमा असर गर्ने खालका त्यस्ता वस्तु विक्री वितरण गरेको पाइएमा प्रचलित कानुन बमोजिम दण्ड सजायका लागि सिफारिस गरिने जनाइएको छ । त्यस्ता वस्तु १८ वर्ष मुनीकालाई बिक्री नगर्न कडा आदेश दिइएको छ ।  

वडा ६ स्कुल डाँडाका पसले, व्यवसायीहरूले यस्ता वस्तु विद्यार्थीहरूलाई समेत जथाभाबी विक्री वितरण गरेको पाइएको उल्लेख गर्दै वडा कार्यालयले उक्त सूचना जारी गरेको हो । पसले, व्यवसायीको यस्तो गैर जिम्मेवार कामले त्यहाँ स्थित सरस्वती मावि पानवारीका विद्यार्थीहरू स्कुल ड्रेसमै चुरोट, खैनी, गुट्खाको कुलतमा परेको सूचनामा उल्लेख छ । 

वडा अध्यक्ष भूपेन्द्र भट्टराईद्वारा विद्यालय क्षेत्रमा यस्ता वस्तु बिक्री गर्न लगाइएको प्रतिबन्ध धरानका सबै विद्यालय आसपासमा लागुगर्न जरुरी भएको अभिभावकहरूले बताएका छन् । बजार क्षेत्रका अधिकांश विद्यालय आसपास रहेका पान पसल, किराना पसलहरूले स्कुल ड्रेसमै आएका उमेर नपुगेको बालबालिकाहरूलाई समेत कुलतमा फसाउने यस्ता वस्तु विक्री गर्ने गरेको पाइन्छ ।

प्रचलित कानुन अनुसार यस्ता वस्तु विक्री वितरणका लागि राजश्व कार्यालयबाट पूर्व स्वीकृति लिनु आवश्यक छ । सार्वजनिक स्थलमा धूम्रपान गर्नेलाई दण्ड गरिने नियम पनि छ, साथै १८ वर्ष उमेर नपुगेका बालबालिका किशोर किशोरीलाई चुरोट, खैनी विक्री गरेमा दण्ड जरिवाना गरिने व्यवस्था पनि छ ।