इटहरी : इटहरीको धरान रोडमा मकै बेचिरहेकी अकली चौधरी दिउँसो १ बजे देखी व्यापार सुरु गर्छिन् । गर्मी याममा भन्दा जाडोमा सहजै व्यापार गर्ने उनी ३ वर्षदेखि एउटै व्यवसायमा छिन् । श्रीमानको मृत्युपछि आफ्नै कमाइले घरपरिवार चलाउनुपर्ने बाध्यतामा छिन् उनी । दिनभरि यात्रुको भिडभाडले उनलाई उत्साह थप्छ । 
मौसम चिसो हुँदा थप कमाई हुने आशामा हुन्छिन् उनी । मान्छेहरूको भिडमा खुसी खोजिरहेकी उनी नगर प्रहरी देखी आतङ्कित छिन् । नगर प्रहरीले कहिलेकाहीँ दुख दिने गरेको सुनाउँदै उनी भन्छिन्, ‘बुढेसकाल लागिसक्यो । जानेको यही मकै बेच्न हो । अब के गरिखानु ?’ 
विराटनगर लाइनमा जुत्ता सिलाउने राजेन्द्र राम पनि व्यवसायीक सुरक्षा चाहन्छन् । अहिलेसम्म नगर प्रहरीले समान जफत नगरे पनि काठमाण्डौको जस्तो हालत नहोस् भन्ने कामना गरिरहेका छन् उनी । छोराको मोबाइलमा (उनकै भाषामा) बालेन शाहका प्रहरीले गरेको व्यवहारले आफ्ना ती दिन आउने हुन् कि ! भनेर सशङ्कित छन् राम । 
पूर्व लाइनमा सालको पात विक्री गर्ने व्यापारीले नाम भन्न मानिनन् । तर काठमाण्डौमा फुटपाथका व्यापारीले धेरै दुख पाएको फेसबुकमा देखेको उनले बताइन् । कहिले काहीँ नगर प्रहरीले जफत गर्ने गरेको बताउँदै उनले व्यवसायीक सुरक्षाको माग गरिन् । धेरै लगानी गर्न पैसा नभएको भन्दै सुरक्षित ठाउँमा व्यापार गर्ने वातावरण उपलब्ध गराउन उनले आग्रह गरिन् ।  
इटहरी चोक आसपास फुटपाथमा फलफूल लगायत अन्य व्यापार गर्ने व्यापारी नगर प्रहरी सँग सचेत छन् । नगर प्रहरीले कुनै बेला पनि उठाएर लैजाने हो की भन्ने त्रासमा छन् उनीहरू । 
केही कम आय स्तरका व्यापारी भयका साथ फुटपाथमा व्यापार गरिरहेका छन् । उता सटर भाडामा लिएका अधिकांश व्यापारीले सडक मिचेर सामान फिँजाएका छन् । जसले गर्दा इटहरीमा व्यवस्थित गर्न लागिएको सवारी पार्किङको समस्या समाधान हुन सकेको छैन । भित्री बजार क्षेत्रमा सडकमै सामान राख्दा दुर्घटना र सवारी जाम बढ्दै गएको यात्रुहरूको गुनासो छ । 
इटहरीको मुख्य बजार क्षेत्रमा पर्ने ६ नम्बर वडाका वडाध्यक्ष दिवस पोखरेल फुटपाथ व्यापारीलाई व्यवस्थित गरिने बताउँछन् । बिस्तारै राजमार्ग क्षेत्रमा केही सुधार देखिएको बताउँदै उनले भित्री बजार क्षेत्रमा पनि सवारी पार्किङलाई व्यवस्थित गरिने बताए । यात्रु, फुटपाथ व्यापारी र ठुला व्यापारी कसैला पनि सास्ती नपर्ने गरी काम गरिने उनले सुनाए ।
itahari-foothpat-6
itahari-foothpat-8
itahari-foothpath-business-
itahari-foothptah-4
itahari-foothpat-7
itahri-foothpat-9
itahari-foothpat-business-3