धरान : तामाङ जातिको सोनाम ल्होसार २८५९ नयाँ वर्षमा आइतबार धरानका पुराना खेलाडीहरूले मैत्रीपूर्ण बास्केटबल खेलेर शुभकामना आदान प्रदान गरे ।
नेपाल तामाङ घेदुङ्ग सङ्घ, सुनसरी अध्यक्ष तथा बास्केटबल सङ्घका केन्द्रीय उपाध्यक्ष सुरजकुमार लामाको टिम र धरान बास्केटबल सङ्घका संस्थापक तथा महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक कृष्ण राईको टिम बिच भएको खेलमा लामाको टिम विजयी भएको थियो ।
लामाको टिमले राईको टिमलाई ७०-६८ अङ्कको झिनो अन्तरले पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा लामा र राईको टिममा प्रत्येक क्वाटरमा २४-११, १२-१५, १४-२० र १०-१२ अङ्कको अन्तर रहेको थियो । विजयी टिमका प्रदेश १ बास्केटबल प्रशिक्षक विकास चाम्लिङ राई र राष्ट्रिय रेफ्रि शिशिर पोख्रेलले २४/२४ अङ्क जोडेका थिए । राईको टिमबाट त्रिसान्त श्रेष्ठले २७ अङ्क जोडेका थिए ।
लामाको टिममा बास्केटबल सङ्घका पूर्व केन्द्रीय सदस्य, धरान बास्केटबल सङ्घका संस्थापक महेश श्रेष्ठ, सङ्घका संस्थापक, सल्लाहकार नवीन राज राई, सुनसरी बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदी, राष्ट्रिय रेफ्रि शिशिर पोख्रेल र बास्केटबल प्रशिक्षक विकास चाम्लिङ राई थिए । 
राईको टिम वाट बास्केटबल सङ्घका संस्थापक, सल्लाहकार टेकुनन्द लिम्बु, पूर्व खेलाडी देवराज राई, बास्केटबल सङ्घका सदस्य रोशन राई, पूर्व खेलाडी सविन राई, प्रदेश १ बास्केटबल खेलाडी दिवस राई र त्रिशान्त श्रेष्ठ थिए । उक्त अवसरमा नयाँ वर्ष तथा सोनम ल्होसारको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको थियो ।
sonam-losar-baketball