धरान : फुटबल रेफ्रिहरुको प्रदेश १ रेफ्रि सङ्घ तदर्थ समितिको अध्यक्षमा मधुसूदन खनाल सर्वसम्मत चयन भएका छन् । धरान एन्फा टेक्निकल सेन्टर स्थित एन्फा प्रदेश १ कार्यालयमा भएको रेफ्रिहरुको भेलाले पहिलो पटक प्रदेश रेफ्रि सङ्घ गठन गरेको हो ।
नव गठित प्रदेश रेफ्रि सङ्घमा वरिष्ठ उपाध्यक्ष सन्तोष राई (पाँचथर), उपाध्यक्ष सञ्जय राई (भोजपुर), उपाध्यक्ष दीपेश लिम्बु (ताप्लेजुङ), महिला उपाध्यक्ष उमा श्रेष्ठ (सङ्खुवासभा), महासचिव प्रदीप बस्नेत (झापा), सचिव पङ्कज चौधरी (उदयपुर), कोषाध्यक्ष यशराज राई (सुनसरी) चयन भएका छन् ।
सदस्यहरूमा सन्देश लिम्बु (धनकुटा), सुमन खापुङ (तेह्रथुम), सुरेश वुर्जामगर (इलाम), विजय राई (खोटाङ), विक्रम कार्मी विक्की (मोरङ), दिवाकर पौडेल (सुनसरी), लोकराज ढुङ्गाना (झापा), महिला सदस्य जमुना आले (मोरङ), सरिता मगर (सुनसरी) रहेका छन् ।
रेफ्रिहरुको भेलाले प्रदेश सङ्घको सल्लाहकारमा किरण गिरी (मोरङ) र अम्बर बहादुर पोखरेल किरणलाई सल्लाहकारमा चयन गरेको छ । रेफ्रिहरुको प्रदेश सङ्घ, प्रदेश १ मा पहिलो पटक गठन भएको हो । यसअघि जिल्ला रेफ्रि सङ्घहरू भएपनि मुलुक सङ्घीय प्रणालीमा गएको लामो समय सम्म अन्य प्रदेशमा प्रदेश रेफ्रि सङ्घ गठन हुनसकेको छैन ।
रेफ्रिहरुको भेलामा प्रदेश १ फुटबल सङ्घका अध्यक्ष किशोर राईको प्रमुख अतिथि थिए । उनले मुलुक सङ्घीय प्रणालीमा गएकोले खेल सङ्घहरूलाई पनि त्यही ढाँचामा पूनसंरचना गर्नुपर्ने कुरामा जोड दिदैं फुटबल खेलमा योगदान पुर्याउदैं आएका रेफ्रिहरुका हकहितका लागि प्रदेश सङ्घको भूमिका महत्त्वपूर्ण हुने बताए ।
सुनसरी जिल्ला खेलकुद समितिका अध्यक्ष दीपक राई, एन्फाका प्रवक्ता सुरेश साह, मोरङ जिल्ला फुटबल सङ्घका अध्यक्ष सञ्जीव बुढाथोकी भेलामा अतिथि थिए । भेला मधुसूदन खनालको सभापतित्वमा भएको थियो । भेलामा प्रदेश १ को १२ जिल्लाका फुटबल रेफ्रिहरु सहभागी थिए ।