इटहरी : नेपाल उद्योग परिसंघ प्रदेश नम्बर १ को आयोजनामा सिएनआई एक्स्पो २०२३ हुने भएको छ । अन्तर्राष्ट्रिय स्तरको कृषि तथा औद्योगिक प्रदर्शनी मेलाको रूपमा आयोजना गरिएको एक्स्पो माघ १९ गतेबाट सुरु हुने भएको हो ।
विराटनगर महानगरपालिका-२ शङ्करपुर मार्गमा आयोजना हुन लागेको प्रदर्शनीमा भारत, चिन, पाकिस्तान र बङ्गलादेशका उद्योगी व्यवसायीको उपस्थिति हुने आयोजकले जनाएको छ । मङ्गलवार इटहरीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उद्योग परिसंघले कृषि उत्पादनका बस्तु तथा सेवाको प्रवर्धनको लागि प्रदर्शनी आयोजना गरिएको बताएको छ ।
परिसंघका प्रदेश अध्यक्ष भीम घिमिरेले विदेशी लगानीकर्तालाई निमन्त्रणा गरेर नेपालमा लगानीका क्षेत्रबारे जानकारी गराउन लागिएको बताए । नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा बजारीकरण गर्न औद्योगिक प्रदर्शनी फलदायी हुने उनको भनाई छ । विद्यार्थीको ज्ञानको क्षेत्र फराकिलो बनाउन तारामण्डलको प्रदर्शनी राखिएको उनले जानकारी दिए ।
९ दिन सम्म चल्ने प्रदर्शनीबाट उपभोक्ताहरूमा नयाँ प्रविधिको ज्ञान र आर्थिक विकाशका नयाँ अवसरको बारेमा जानकारी हुने उनको दाबी छ । ३५० स्टल रहने प्रदर्शनीलाई नेपाल सरकारको कृषि, पर्यटन, उद्योग मन्त्रालय तथा नेपाल पर्यटन बोर्ड र प्रदेश सरकारले सहयोग गरेका छन् । विराटनगर महानगरपालिका, बुढिगंगा गाउँपालिका, रङ्गेली नगरपालिकाले मुख्य प्रवर्द्धनको रूपमा जिम्मेवारी लिएका छन् ।  
 जातीय संस्कृत झल्किने झाँकी प्रदर्शनी गरिने कार्यक्रममा मोरङको भक्का देखि जुम्लाको भिर मौरीको मह, तेह्रथुमको ढाका, सङ्खुवासभाको करुवा र भोजपुरको खुकुरीको प्रदर्शनी गरिने भएको छ ।
कार्यक्रमको थप प्रचारको लागी जोगबनी र फारबिसगन्जमा पत्रकार सम्मेलन गरेर प्रचार गरिने अध्यक्ष घिमिरेले जानकारी दिए ।