धरान : धरानमा जारी २३औँ टुबोर्ग गोधुली फुटबल रनिङ कपमा आजदेखि सेमिफाइनलका खेलहरू सञ्चालन हुदैछन् ।
आज धरान रङ्गशालामा ठिक ३ः०० बजे धरान-५ र धरान-१५ बिच पहिलो सेमिफाइनल खेल हुनेछ । भोलि वडा नं. १६ र वडा नं. १७ बिच अन्तिम सेमिफाइनल खेल हुँदैछ । ५ नं. वडा पहिलो पटक गोधुलीको सेमिफाइनलमा प्रवेश गरेको हो । वडा नं. ५ ले पहिलो खेलमा १३ नं. वडालाई २-० गोल अन्तरले पराजित गरेको थियो । वडा नं. ३ लाई ३-१ गोल अन्तरले पराजित गरेको ५ नं. वडाले क्वाटर फाइनलमा वडा नं. १ लाई ४-२ गोल अन्तरले पराजित गरेको थियो । ५ नं. वडा प्रतियोगितामा पहिलो पटक गोधुली रनिङ कपको सेमिफाइनलमा प्रवेश गरेको हो । 
वडा नं. १५ ले पहिलो खेलमा वडा नं. १२ लाई ३-० गोल अन्तरले पराजित गरेको थियो भने क्वाटर फाइनलमा वडा नं. ११ लाई १-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । वडा नं. १५ ले १४ औँ संस्करणको गोधुलीको उपाधि जितेको थियो । वडा नं. १५ गत वर्षको स्वर्गीय सुवास राई स्मृति सुपर ८ लिग फुटबल प्रतियोगिताको विजेता हो । सुपर ८ लिगमा गोधुलीको क्वाटर फाइनल खेल्ने टोलीहरूले प्रतिस्पर्धा गर्छन् ।
वडा नं. १६ ले पहिलो खेलमा १० नं. वडालाई ३-० गोल अन्तरले पराजित गरेको थियो भने क्वाटर फाइनल खेलमा वडा नं. १४ लाई टाइब्रेकरमा ४-२ ले जितेको थियो । १६ नं. वडा गोधुलीको डिफेन्डिङ च्याम्पियन समेत हो । १६ नं. वडाले गत वर्ष फाइनलमा १३ नं. वडालाई टाइब्रेकरमा ४-३ गोल अन्तरले पराजित गरेको थियो ।  
वडा नं. १७ ले पहिलो खेलमा वडा नं. ७ लाई ६-० गोल अन्तरले पराजित गरेको थियो भने क्वाटर फाइनलमा वडा नं. २० लाई ५-२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ । १७ नं. वडा गोधुलीको आयोजक वडाको रूपमा समेत रहेको छ । १७ नं. वडाले प्रतियोगिताको १८ औ, १९ औँ र २० औँ संस्करणमा उपाधि जित्दै ह्याट्रिक गरेको रेकर्ड समेत बनाएको छ । 
पुस ३० गतेदेखि माघ १४ गतेसम्म धरान रङ्गशालामा हुने प्रतियोगितामा धरानका २० वटै वडाको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार, उपविजेताले नगद ७५ हजार र विधागत उत्कृष्टले नगद ५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।प्रतियोगिताको आयोजना धरानको गोधुली क्लबले गरेको हो।
Godhuli-cup-trophy