धरान  : धरानमा जारी २३ औँ टुबोर्ग गोधुली फुटबल रनिङ कपको उपाधि १७ नं. वडाले जितेको छ । 
फाइनलमा वडा नं. १५ लाई २-१ गोल अन्तरले पराजित गरेसँगै गोधुली कपको उपाधि १७ नं. वडाले यो सहित चार पटक जितेको छ। उपाधिसँगै १७ नं. वडाले नगद रु १ लाख ५० हजार, ट्रफि, मेडल पुरस्कार प्राप्त गरेको छ । 
उपविजेता भएको १५ नं. वडाले नगद ७५ हजार, ट्रफि, मेडल पुरस्कार प्राप्त गरेको छ । विजेता तथा उपविजेता दुवै टिमलाई धरान वडा नं. १८ का वडाध्यक्ष प्रवीणकुमार राई र उहाँको बुबा ध्यानबहादुर राईले नगद २५/२५ हजार पुरस्कार थप प्रदान गरेका थियो ।
विधागत पुरस्कारमा पनि १७ नं. वडाको वर्चस्व रह्यो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी १७ नं. वडाका सविन राई घोषित भए । उनलाई नगद १५ हजार पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिताको उच्च गोलकर्ता धरान वडा नं. १४ का सरोज राई घोषित हुँदै नगद ७ हजार ५ सय पुरस्कार जिते । उनले प्रतियोगितामा ६ गोल गरेका थिए ।
प्रतियोगिताको बेष्ट डिफेन्स १७ नं. वडाका सौजन राई, बेष्ट गोल किपर १७ नं. वडाका सुजन राई, बेष्ट मीड फिल्डर १७ नं. वडाका सुशील राई, बेष्ट स्ट्राइकर १७ नं. वडाका कृष्ण राई, बेष्ट कोच १७ नं. वडाका योगेन राई, राइजिङ प्लेयर १७ नं. वडाका साहिल राई घोषित भए भने फाइनल खेलको म्यान अफ द म्याच १५ नं. वडाका नगेन राई घोषित भएका थिए । उनीहरूलाई नगद ५५ सय र मेडल प्रदान गरिएको थियो । 
प्रतियोगिताका विजेता खेलाडीहरूलाई धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई, उपप्रमुख अइन्द्र विक्रम वेघा, एन्फाका मानार्थ उपाध्यक्ष किशोर राई लगायतका अतिथिले पुरस्कार वितरण गरेका थिए। 
पुस ३० गतेदेखि माघ १४ गतेसम्म धरान रङ्गशालामा सञ्चालन भएको प्रतियोगितामा धरानका २० वटै वडाको सहभागिता रहेको थियो । प्रतियोगिताको आयोजना धरानको गोधुली क्लबले गरेको हो भन प्रतियोगितालाई टुवोर्ग वियरले मुख्य प्रायोजन गरेको छ । धरानको १७ नं. वडा कार्यालय, धरान-१७ समाज हङकङ र सेन्ट जोसेफ स्कुले सह प्रायोजन गरेका थिए ।