धरान : बराह डिपार्टमेन्ट स्टोरलाई त्यहाँ विक्री वितरणका लागि खाद्यान्न लगायत विभिन्न सामान आपूर्ति गर्दै आएका वितरकहरूको भुक्तानी नहुँदा व्यवसायीक र मानसिक समस्यामा परेको 'धरान वितरक सङ्घ'ले जनाएको छ । यसबारे सङ्घले शनिवार बराह सञ्चालक समितिलाई ज्ञापन पत्र बुझाउँदै चाँडो भुक्तानी नभएमा अप्रिय कदम चाल्ने जनाउ दिएको हो ।
हजारौँ बचतकर्ता तथा लगानीकर्ताहरूको करोडौँ रुपैयाँ फिर्ता गर्न नसकी रहेको बराह पुनः सञ्चालन भए पनि दुई वर्ष देखीको पुरानो भुक्तानी नहुँदा वितरकहरू समस्यामा परेको सङ्घका अध्यक्ष नवीन तामाङले बताए । उनका अनुसार बराह डिपार्टमेन्टले वितरकहरूको पुरानो बक्यौता भुक्तानी गर्न करिब साढे ३ करोड रुपैयाँ बाँकी छ । उक्त बक्यौता खाद्यान्न, कस्मेटिक्स र मदिरा लगायतको हो ।
बराहले प्रारम्भिक कालदेखी व्यापारिक कारोबार गर्दै आएका वितरकहरूलाई आपूर्ति भएको वस्तुको हप्ता-हप्तामा भुक्तानी गर्दै आएको थियो । थोक व्यापारको चलन अनुसार एक पटक आपूर्ति भएको वस्तुको कुल भुक्तानी २५ दिन र त्यसभन्दा बढी ४५ दिन सम्ममा भुक्तानी गरिसक्नु पर्दछ । तर बराहमा समस्या आएपछि त्यस अघि आपूर्ति गरिएको बस्तुको भुक्तानी नदिएको दुई वर्ष भयो । 
यसअघि बराहले भुक्तानीको रूपमा दिएको बैङ्क चेक पनि अधिकांश भुक्तान नभएको अध्यक्ष तामाङले बताए । छ महिना पछिको व्याक डेटको चेक पनि भुक्तानी नभएपछि गुनासो गर्न जाँदा आर्थिक समस्याका कारण थप छ महिनाको भाका मागेर नयाँ चेक दिने भनिएको छ । अध्यक्ष तामाङका अनुसार बराह पुनः सञ्चालन भए पनि पुरानो भुक्तानी नभएकोले सञ्चालक समितिलाई ज्ञापन पत्र बुझाइएको हो ।
ज्ञापनपत्रमा भनिएको छ ‘हामी वितरकहरूले पछिल्लो समय बराह डिपार्टमेन्ट स्टोरबाट सिर्जित समस्याहरूले गर्दा व्यवसाय छोड्ने मानसिक समस्या भाग्दै आइरहेको यहाँहरूलाई अवगत गराउँदछौ । हामी वितरकहरूले बराह डिपार्टमेन्ट स्टोरबाट समयमा मौज्दात भुक्तानी नपाउँदा दिनदिनै ऋणको भारी थपेर बस्न परेको जनाकारी गराउँदछौ ।’
ज्ञापन पत्रमा भनिएको छ ‘अब पनि बराह वितरक सदस्यहरूको समस्यालाई सम्बोधन नगर्ने हो भने वितरक सदस्यहरूले कुनै पनि अप्रिय कदम चाल्न सक्ने सम्बन्धमा यहाँहरूको संस्था दोषी ठहरिने देखिन्छ । त्यसैले आज हामी यहाँहरू समक्ष यो ज्ञापन पत्र सहित वितरक सदस्यहरूको माग छिटो भन्दा छिटो सम्बोधन गरी धरानका वितरक व्यवसायीहरूको व्यवसाय बचाउन आग्रह गर्दछौँ ।’
wholeseller-PR