विराटनगर : विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानमा साथ दिन महानगरपालिकाले होटेल तथा मदिरा व्यवसायीहरूसँग आग्रह गरेको छ । 
विराटनगरभित्र सञ्चालित धेरै होटेल र मदिरा व्यवसाय दर्ता नगरेको पाइएपछि व्यवसायीहरूलाई बोलाएर महानगरले छलफल गरेको हो । महानगरका मेयर नागेश कोइरालाले महानगरले सुरु गरेको अभियानमा साथ दिन व्यवसायीहरूसित आग्रह गरे । 
उनले सबैको साथ र सहयोगले मात्रै विराटनगरलाई व्यवस्थित बनाउन सकिने भएकाले सहयोग गर्नुपर्नेमा जोड दिए । मेयर कोइरालाले बढीभन्दा बढी कर सङ्कलन नभएसम्म महानगरवासीको विकासको चाहना पूरा गर्न गाह्रो पर्ने सुनाए । “महानगरपालिकाले करको दर बढाएको छैन । हामीले दायरा मात्रै बढाउन अभियानमा छौँ,” उनले भने, “धेरै होटेल, रेस्टुरेन्ट र मदिरा पसलहरू महानगरमा दर्ता नगरीकनै सञ्चालन गरेको पाइएको छ ।”
उपमेयर शिल्पा निराला कार्कीले कानुनी रूपमा बलियो भएर व्यवसाय सञ्चालन गर्दा कसैसित पनि डराउनु नपर्ने बताइन् । अनुगमनमा पुग्दा सबै कागजपत्र तुरुन्त बनाएर राख्दा व्यवसायीकै प्रतिष्ठा बढ्ने उनको भनाइ थियो । 
प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले महानगर क्षेत्रभित्र सञ्चालित सबै व्यवसायलाई करको दायरामा ल्याउने गरी काम भइरहेको बताए । उनले धेरै होटेल तथा रेस्टुरेन्ट र मदिरा व्यवसायीले दर्ता नै नगरी सञ्चालन गरेको पाइएको सुनाए । सबैलाई करको दायरामा ल्याउन महानगर घरदैलो अभियानमै लागेको उनको भनाइ । 
छलफलमा राजस्व महाशाखा प्रमुख सरोज गौतमले अनुगमनका क्रममा व्यवसायीले साथ दिएको बताए । उनले छलफलको उद्देश्यमाथि प्रकाश पार्दै महानगरलाई आर्थिक रूपमा बलियो बनाउँदै व्यवस्थित बनाउने मेयरसहित जनप्रतिनिधिको उद्देश्य परिपूर्तिका लागि कर सङ्कलन अभियान जारी रहेको जानकारी दिए ।