धरान : नेपाली लेखक सङ्घ, सुनसरीले राष्ट्रिय सहिद दिवसको दिन सोमवार साधारण सभाको आयोजना गरी प्रजातन्त्रका लागि प्राणको आहुति दिने शहिदहरुप्रति सम्मान प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । साधारण सभाले सङ्घको जिल्ला कार्यसमिति पुनर्गठन गर्दै हर्ष सुब्बाको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ । 
समितिको उपाध्यक्ष, सचिव, कोषाध्यक्षमा क्रमशः प्रा.डा.चन्द्रमणि नेपाल, सचिव विजय घिमिरे, कोषाध्यक्ष हेनसेन याक्खा रहेका छन् । सदस्यहरूमा डा.महानन्द तिम्सिना, हिक्मत खड्का र पुष्पराज ढकाल रहेका छन् । सल्लाहकारहरूमा प्रा.डा. गोपाल भण्डारी, भीष्मराज काफ्ले, गिरिराज आचार्य, कृष्णप्रसाद अधिकारी रहेका छन् ।  
नेपाली लेखक सङ्घ २००८ सालमा महाकवि लक्ष्मीप्रसाद देवकोटाले स्थापना स्थापना गरेका थिए । २०१७ सालमा राजा महेन्द्रको कदमले अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लागेपछि सङ्घ लामो समय सुषुप्त अवस्थामा रह्यो । नेपाल भएको पछिल्लो परिवर्तन पछि प्रा.डा. तुलसीप्रसाद भट्टराईको नेतृत्वमा यसलाई पुनर्जीवित गरिएको हो । 
साधारण सभा सङ्घका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष प्रा.डा. गोपाल भण्डारीको सभापतित्वमा भएको थियो । सो अवसरमा उनले नेपालमा प्रजातन्त्रका लागि प्राणको आहुति दिने सहिदहरूको सम्मान प्रकट गर्न सहिद दिवसको दिन सङ्घ साधारण सभा आयोजना गरिएको बताए । 
प्रा.डा.भण्डारीले भने ‘महाकवि लक्ष्मीप्रसाद देवकोटाले स्थापना गरेको सङ्घको इतिहासलाई निरन्तरता दिनका लागि नेपाली लेखक सङ्घको जिल्ला समितिहरू विस्तार भइरहेका छन् ।’ उनले यसअघि सङ्घको सुनसरी शाखाले गरेका गतिविधिहरूको जानकारी सभामा प्रस्तुत गरेका थिए ।