• रश्मि प्रधान

धरान : नेपालको प्रसिद्ध फुटबल प्रतियोगिता बुढासुब्बा गोल्डकपको प्रवर्द्धनमा धरान उपमहानगरपालिका अघि बढेको छ । अघिल्लो दिन नगर सभामा गोल्डकपका लागि ३ लाख रुपया बजेट थप गरी १२ लाख रुपया पुर्‍याएको उपमहानगरपालिका मेयर सहित जनप्रतिनिधिहरू सोमवार फुटबल टिमको रूपमा मैत्रीपूर्ण खेलमा सहभागी भए । 

कोराना महामारी एवं आर्थिक सङ्कटका कारण दुई वर्ष स्थगित भएको २३ औ बुढासुब्बा गोल्डकप फागुन १३ गते देखी सुरु गर्ने तयारी आयोजक धरान फुटबल क्लबले गरेको छ । त्यसैको प्रवर्द्धनका लागि मैत्रीपूर्ण खेल आयोजना गरिएको हो । 

उक्त अवसरमा नवनिर्वाचित जनप्रतिनिधिहरूको सम्मानमा क्लबले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ । नगर प्रमुख हर्क साम्पाङ, उपप्रमुख आइन्द्रविक्रम बेघा सँगै २० वटै वडाका वडाध्यक्ष र कार्यपालिका सदस्यहरूलाई सम्मान गरिएको हो । 

बुढासुब्बा गोल्डकप धरानलाई खेलकुदको सहरको रूपमा परिचित गराउने प्रतियोगिता र देशकै प्रतिष्ठित प्रतियोगिता भएको क्लबका अध्यक्ष तथा एन्फाका मानार्थ वरिष्ठ उपाध्यक्ष किशोर राईले बताए । धरान उपमहानगरले गोल्डकपका लागि थप बजेट विनियोजन गरेकोमा उनले आभार प्रकट गरे । 

धरान उपमहानगरपालिकाका जनप्रतिनिधि र धरान फुटबल क्लबका भेट्रान खेलाडी बिच भएको मैत्रीपूर्ण खेलमा जनप्रतिनिधिको टिम विजयी भएको छ । २-० गोलको जित हात पारेको जनप्रतिनिधि टिमले थप गोल गर्ने अवसर सदुपयोग गर्न नसकेको टिम कप्तान मेयर हर्क साम्पाङले बताए ।

जितका लागि धरान १० का वडाध्यक्ष विवेक राईले पहिलो हाफमा पहिलो गोल गरे । दोस्रो हाफको अन्तिम समयमा थप एक गोल गर्दै नगर प्रमुखका स्वकीय सचिव सुदर्शन लिम्बूले जनप्रतिनिधिको टिमलाई २ गोलको अग्रता दिलाए ।

budhasubba-promotion-2079