धरान : नेपाली बब मार्लीको उपनामले चिनिने लोकप्रिय लोक स्रष्टा गङ्गा बरदानको लोकप्रिय गीत 'कहाँमा काट्यो बेतको लौरी' नयाँ भर्सनमा सार्वजनिक भएको छ।
लोक स्रष्टा गङ्गा बरदानको लोकप्रिय गीत 'कहाँमा काट्यो बेतको लौरी' बिस २०३५ सालमा रेडियो नेपालमा आफ्नो जीवनकै पहिलो गीत रेकर्ड गरेका थिए।
त्यसपछि २०५५ साल ताका आफ्नो पहिलो एल्बम गङ्गा वरदान भाग-१ को लागि यही गीत दोस्रो पटक नमस्ते स्टुडियो, काठमाण्डौमा रेकर्ड गरेका थिए भने २०७९ सालमा आएर तेस्रोपल्ट धरानको न्यु भावना रेकर्डिङ स्टुडियोमा तेस्रोपल्ट नयाँ भर्सनमा रेकर्ड गरेका हुन् । अहिले सम्म पनि उतिकै सदाबहार गीतलाई यसपालि भने रेगी भर्सनमा बनाइएको छ । पुरानै लयलाई कति पनि नबिगारी सङ्गीत संयोजनमा नयाँ टेस्ट मात्र दिन खोजिएको गायक गङ्गा वरदान बताउँछन्।  
१६ वर्षको कलिलो उमेरमा बिस २०२५ सालमा भोजपुरमा आयोजित लोक तथा नृत्य प्रतियोगितामा 'दाइ त काले भाइ पनि काले काले काले मिलेर खाऊँ भाले' बोलको आफ्नै सङ्कलन तथा स्वर रहेको गीतबाट दोस्रो स्थान प्राप्तगरी ५०००/- पुरस्कार पाएका वरदानले त्यसको ६ वर्षपछि बिस २०३१ सालमा  धरानमा आयोजित पुर्वान्चलव्यापी लोकगीत प्रतियोगितामा 'छपनीले छान छान डबकीले हान' बोलको गीतबाट प्रथम स्थान हात पारेका थिए।  नमस्ते ब्यान्डको सक्रियतामा उनको गङ्गा वरदान भाग १, २, ३ एल्बम बजारमा आइसकेको छ।
'कहाँमा काट्यो बेतको लौरी'को नयाँ भर्सनमा जुपिहाङ्ग लिम्बुको सङ्गीत संयोजन तथा डम्बर लिम्बुको मिक्सिंग तथा मास्टरिंग रहेको छ।