• रश्मि प्रधान 
धरान : धरान उच्च कलेजद्वारा आयोजित अन्तर विद्यालय प्रदेश १ थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि धरान-१५ स्थित होलिल्याण्ड इन्टरनेशनल स्कुलले चुमेको छ । 
शनिवार भएको फाइनल खेलमा होलिल्याण्डले सगरमाथा स्कुललाई पराजित गरी उपाधि चुमेको हो । विजेता वनेको होलिल्याण्डले नगद ५ हजार सहित ट्रफी उचालेको छ । 
उपविजेता सगरमाथा स्कुलले नगद २५ सय सहित ट्रफीमा चित्त बुझाउनु पर्‍यो। छात्रा तर्फको प्रतिस्पर्धामा पनि होलिल्याण्डले नै उपाधि चुम्यो । होलिल्याण्डले होलिल्याण्डकै अर्को टिमलाई पराजित गर्दै छात्रातर्फको उपाधि चुमेको हो । 
विजेता टिमले ३ हजार नगद सहित ट्रफी प्राप्त गर्‍यो । उपविजेता टिमले नगद २ हजार र ट्रफी प्राप्त गर्‍यो । प्रतियोगितामा छात्रातर्फ कार्मेल स्कुलकी प्राञ्जल लिम्बु मोस्ट भ्यालुएबल खेलाडी घोषित भएकी थिइन भने छात्रतर्फ दिल्ली पब्लिक स्कुलका नुभा राई मोस्ट भ्यालुएबल खेलाडी घोषित भए । 
प्रतियोगितामा उत्कृष्ट खेलाडी होलील्याण्डकी नुमा लिम्बु घोषित भइन् । छात्रतर्फ होलील्याण्डकै सिपु लिम्बु उत्कृष्ट घोषित भए । प्रतियोगितामा धरान र धरान बाहिरका गरी ३५ टिम सहभागी थिए । धरान उच्चले रजत वर्षको पूर्व सन्ध्या प्रतियोगिता आयोजना गरेको हो । प्रदेश १ का पूर्व प्रमुख, कलेजका संस्थापक प्राडा.गोविन्द तुम्बाहाङले विजेता र उपविजेता टिमलाई पुरस्कार प्रदान गरे । 
धरान उच्चमा धरान सेकेन्डरी स्कुल, धरान कलेज अफ म्यानेजमेन्ट, वीरेन्द्र मेमोरियल कलेज सहितका शैक्षिक संस्था संयुक्त रूपमा सञ्चालन हुँदै आएको छ । 
प्रतियोगिता धरानको प्रतिष्ठित हराइजन बास्केटबल क्लबले प्राविधिक सहयोगमा सञ्चालन भएको हो । समापन व्यवस्थापन समिति अध्यक्ष शिवनारायण साहको सभापतित्वमा भएको थियो । प्रिन्सिपल चित्रप्रसाद ढुङ्गेल, प्राध्यापक गङ्गा चौलागाई सहित प्राध्यापकहरूको उपस्थिति थियो ।