• रश्मि प्रधान
धरान : धरान उच्च कलेज स्थापनाको पच्चिस वर्ष तिर लाग्दै गर्दा रजत जयन्ती मनाउने तरखरमा लागेको छ । २०५५ सालमा धरान उच्च माविको नाममा सुरु भएको कलेजले आउँदो असार २८ गते पच्चिसऔँ वर्ष पुरा गर्दै छ । 
रजत जयन्तीको पूर्वसन्ध्यामा कलेजले प्रदेश १ स्तरीय अन्तर विद्यालय छात्र तथा छात्रा बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । आज बुधवार बिहान पत्रकार सम्मेलन गर्दै कलेजले उक्त जानकारी दिएको हो ।
प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थीहरू सहभागी हुनेछन् । थ्री बाइ थ्री विधिमा हुने बास्केटबल प्रतियोगिता धरान उच्चको खेल मैदानमा सञ्चालन हुनेछ । झापा, मोरङ,सुनसरी लगायत जिल्लाका विद्यालयहरू प्रतियोगितामा सहभागी हुनेछन् ।
छात्रतर्फ १५ टिम र छात्रातर्फ १० टिम बिच प्रतियोगितामा प्रतिस्पर्धा हुने कलेजका प्रिन्सिपल चित्रप्रसाद ढुङ्गेलले बताए । उनका अनुसार विजेता छात्रतर्फको टिमले नगद ५ हजार ट्रफि, मेडल र प्रमाण पाउने छन् । उपविजेता टिमलाई नगद ३ हजार,ट्रफि,मेडल र प्रमाण–पत्र प्रदान गरिने छ । 
विजेता छात्रा टिमले नगद ३ हजार, ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन् । उपविजेता टिमले नगद २ हजार,ट्रफि,मेडल र प्रमाण-पत्र प्राप्त पाउने छन् । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने छ ।
शिक्षा र खेलकुदबिच पारस्परिक सम्बन्ध भएको कुरालाई अनुभूति गराउन प्रतियोगिताको आयोजना गर्न लागेको कलेज सञ्चालक समितिका सदस्य हेमचन्द्र अधिकारीले बताए । धरान उच्चले हिसान स्पोर्टमा छात्रातर्फको बास्केटबलको उपाधि जितेको थियो ।
पढाइका साथै खेल क्षेत्रमा पनि कलेजलाई व्राण्डिङ गर्न कलेज खेलकुदमा पनि केन्द्रित भएको प्रिन्सिपल ढुङ्गेलले बताए । पत्रकार सम्मेलनको सभापतित्व व्यवस्थापन समितिका अध्यक्ष शिव नारायण साहले गरेका थिए । 
कार्यक्रममा वीरेन्द्र मेमोरीयल कलेजका प्रिन्सिपल तारा बहादुर निरौला, कलेजका सञ्चालक, पूर्व प्रदेश प्रमुख प्राडा गोविन्द तुम्वाहाङ, सञ्चालक सदस्य गङ्गाप्रसाद चौलागाई, चन्द्र फोम्वो लिम्बु लगायतको उपस्थिति थियो ।