धरान : विशेष अदालतले बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार तुलबहादुर श्रेष्ठसहित चारैजनालाई सफाइ दिएको छ।
बिहीबार विशेष अदालतका न्यायाधीशद्वय रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले यस्तो आदेश गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ पुस २०७६ मा पूर्व रजिस्ट्रार श्रेष्ठका साथै आर्थिक प्रशासन प्रमुख रूपा सिंघाची अग्रवाल, सिनियर क्लर्कहरू चन्द्रकुमार मगर र रमेशकुमार खतिवडामाथि रकम हिनामिना गरी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको थियो।
उनीहरूको मिलेमतोमा प्रतिष्ठानबाट जीवन पौडेलका नाममा साढे ५ लाख रुपैयाँको भुक्तानी चेकमार्फत भएको दाबी अख्तियारको थियो।
उक्त भुक्तानीको बिल भरपाई नरहेको र उक्त रकम हिनामिना भएको निष्कर्षसहित मुद्दा दायर भएकोमा भ्रष्टाचार नभएको भन्दै चारै प्रतिवादीले सफाइ पाएका हुन्।