धरान : कोशी प्रदेशस्तरीय ह्विलचियर रन प्रतियोगितामा प्रमुख अतिथिका लागि समय दिएका इटहरी उपमहानगर प्रमुख हेमकर्ण पौडेल कार्यक्रममा नआएपछि उनको आलोचना भएको छ ।
१५ औँ अन्तर्राष्ट्रिय ह्विलचियर दिवसको अवसरमा अपाङ्गता भएकाहरूको संस्था स्पाइनल इन्जुरी सङ्घ कोशी प्रदेशले इटहरीको हलगडा चौकमा बिहान आयोजना गरेको कार्यक्रममा नगरप्रमुख पौडेल नआएकोमा सहभागीहरूले आक्रोश पोखे ।
कुनै निजी विद्यालयको वार्षिक कार्यक्रम सहभागी हुने तर अपाङ्गता भएकाहरूले आयोजना गरेको कार्यक्रममा उपस्थित नभएर पौडेलले अमानवीयता देखाएको सहभागीहरूले आरोप लगाए ।
कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, खेलकुद विकास बोर्डको सहकार्य तथा इटहरी उपमहानगरपालिकाको सहयोगमा भएको घर नजिकैको कार्यक्रममा पौडेल नआएपछि उनको चर्को आलोचना भएको हो ।
कोशी प्रदेशस्तरीय ह्विलचियर रनमा विष्णुकान्त चौधरी प्रथम
कोशी प्रदेशस्तरीय ह्विलचियर रन प्रतियोगितामा विष्णुकान्त चौधरी प्रथम भएका छन् । १५औँ अन्तर्राष्ट्रिय ह्विलचियर दिवसको अवसरमा अपाङ्गता भएकाहरूको संस्था स्पाइनल इन्जुरी सङ्घ कोशी प्रदेशले इटहरीमा गरेको प्रतियोगितामा पुरुषतर्फ चौधरी प्रथम भएका हुन । चौधरीले निर्धारित ८ सय मिटरको दुरी २ मिनेट ४२ सेकेन्डमा पुरा गरे ।
दोस्रो भएका प्रज्वल लिम्बुले २ मिनेट ४६ सेकेन्ड र तृतीय भएका सन्देश चौधरीले २ मिनेट ४७ सेकेन्डमा दुरी पुरा गरेका थिए ।
महिलातर्फ ३ मिनेट २७ सेकेन्डमा दुरी पुरा गरेकी जानुका तामाङ प्रथम भइन । ४ मिनेटमा दुरी पार गरेकी चन्द्रिका सरदार दोस्रो र ४ मिनेट २५ सेकेन्डमा दुरी पुरा गरेकी केशरकुमारी आले मगर तेस्रो भइन । प्रथम हुनेले नगद १० हजार, दोस्रोले ७ हजार र तेस्रोले ५ हजार पुरस्कार पाए । विजेता तथा सहभागीहरूलाई कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्ले, उपाध्यक्ष जीनाजंग कार्की, सामाजिक महाशाखा प्रमुख फणिन्द्र खत्री लगायतले पुरस्कार वितरण गरे ।
कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, खेलकुद विकास बोर्डको सहकार्य तथा इटहरी उपमहानगरपालिकाको सहयोगमा भएको कार्यक्रममा कोशी प्रदेश अन्तर्गत विभिन्न जिल्लाका १ सय ५० जना अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहेको थियो ।
भिडियो :