इटहरी : झुम्का उद्योग वाणिज्य सङ्घको निर्वाचनले व्यवसायीलाई उत्साहित बनाएको छ। व्यापार सुस्त भएपनि चुनावी अभियान तीव्र भइरहेको बेला व्यवसायीले नयाँ नेतृत्व चयन गर्ने अवसर पाउने भएका छन् । 
नयाँ नेतृत्वका लागि वर्तमान महासचिव नवीन कुमार चौधरी बलियो दाबेदारको रूपमा देखा परेका छन् । संयुक्त प्यानल बनाएर चुनावी अभियानमा लागेका चौधरीले प्रचार अभियानलाई तीव्र बनाएका हुन् । महासचिवको सफल कार्यकाल पुरा गरेका उनले नेतृत्व परिवर्तन र व्यवस्थित बजारीकरणको मुद्दालाई अगाडी सारेका छन् । 
चैत १९ गते हुन लागेको निर्वाचन मार्फत व्यवसायीको हकहितमा काम गर्ने नेतृत्व चयन हुने उनले बताए । आफ्नो नेतृत्वमा उवासंघको नयाँ भवन निर्माण हुने र प्रशासनिक कार्यलाई पारदर्शी बनाउने बाचा गरे । 
चोरीडकैतीको समस्या खेपिरहेको झुम्का बजारले आगामी दिनमा सुरक्षित बजारको महसुस गर्न पाउने उनको प्रतिबद्धता छ । व्यवसायीका हरेक समस्यालाई उवासंघ मार्फत हल गर्ने गरी हेल्प डेस्क स्थापना गर्ने उनले बताएका छन् । 
चौधरीले सामुदायिक र व्यवसायीक हिसाबमा सक्रिय युवाहरूलाई आफ्नो प्यानलको उम्मेदवार बनाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि आबद्ध भएका डिल्लीराम गुरागाईँ प्रथम उपाध्यक्षको उम्मेदवार छन् । द्वितीय उपाध्यक्षमा चौधरीको प्यानलबाट रोहित सुब्बाले उम्मेदवारी दिएका छन् । 
त्यस्तै महासचिवमा राप्रपा निकट प्रकाश बन्धु बस्नेत, वाणिज्य सचिवमा लोकनाथ गेलाल, उद्योग सचिवमा सृजना भट्टराई, प्रचारप्रसार सचिवमा हरि कुमार कार्की र कोषाध्यक्षमा रमेश कुमार चौधरी उम्मेदवार छन् । 
चौधरीले सँगै अध्यक्ष पदमा अन्य ४ जना उम्मेदवार पनि सक्रिय भएका छन् । नेकपा एमाले निकट व्यवसायी दुर्गा प्रसाद फुयाँल नेतृत्वको प्यानलले रामधुनी मन्दिरबाट उम्मेदवारी घोषणा गरेको छ । 
त्यस्तै भरत कार्कीले पनि आन्तरिक तयारी गरिरहेका छन् । कार्कीलाई काँग्रेस नेता सगेन चौधरीले साथ दिएका छन् । अघिल्लो पटक अध्यक्षमा पराजित भोला रौनियारको साथमा वर्तमान अध्यक्ष धर्मेन्द्र शाह छन् । सन्दीप गौतमले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् । उनी प्रचार अभियानमा पनि खासै सक्रिय देखिएका छैनन् । 
१५ सदस्यीय कार्यसमितिका लागि ५९ जना चुनावी मैदानमा छन् ।