इटहरी : कोशी प्रदेशका महत्त्वपूर्ण बजारको सुचीमा पर्छन् विराटनगर, इटहरी, धरान, बिर्तामोड, दमक लगायत उर्लाबारी, बेलबारी, सुरुङगा । केही हदसम्म रङ्गेली, विराटचौक, इनरुवा, धुलाबारी, भद्रपुर पनि चल्तीका बजार हुन् । इटहरी भित्रै पनि तरहरा, खनार पकली लगायत बजार आफ्नै गतिमा चलायमान छन् । 
इटहरी देखी इनरुवाको बिचमा पर्ने झुम्का बजारको खास चर्चा छैन । व्यवसायीक हिसाबमा बाहिरका ग्राहक तान्ने गरी चलायमान छैन झुम्का । राजमार्गकै भरमा टिकेको बजार राजनीतिको बलियो अखडा बनेको छ । राजमार्गको एक किलोमिटर क्षेत्रमा सीमित बजारमा अहिले राजनैतिक प्रतिष्ठाको लडाइ चलिरहेको छ । 
खास बस्तु उत्पादन वा व्यापारिक गतिविधिले परिचित हुन नसकेको झुम्का स्थानीय बजार हो । बाहिरका ग्राहकको खासै आकर्षण नरहेको बजारमा अहिले बाहिरी चासो पर्नेगरि राजनीति घुसेको छ । 
चैत १९ गते हुन लागेको झुम्का उद्योग वाणिज्य सङ्घको निर्वाचनमा राजनीतिको एउटा मात्र रङ्ग हैन इन्द्रेणी नै देखिएको छ । पैसा गन्न नपाएको व्यापारी पार्टी भित्रको गुट देखी समुदायगत मतको जोड घटाउमा व्यस्त छन् । 
१४९० मतदाता रहेको उवासंघ झुम्कामा ४ वटा प्यानल चुनावी प्रतिस्पर्धामा छन् । एक जनाको स्वतन्त्र उम्मेदवारीले अध्यक्ष पदमा ५ जना बिच प्रतिस्पर्धा हुने देखिएको छ ।
नेकपा एमालेले दुर्गा प्रसाद फुयाँललाई अध्यक्षको उम्मेदवार बनाएको छ । रामधुनी एमाले नगर कमिटीका अध्यक्ष योगेन्द्र खड्का लगायत पदाधिकारीहरू फुयाँललाई जसरी पनि जिताउनुपर्ने भन्दै चुनावी अभियानमा छन् । एमालेका कार्यकर्ता प्रति सचेत गराउँदै खड्काले जसरी पनि विजय गराउन चेतावनी दिएका छन् । एमालेका नेता डेगराज फुयाँलले चुनाव जित्ने गरी रणनीति तय गर्न मातहतका निकायमा आग्रह गरेको व्यवसायीहरू नै बताउँछन् । 
नेपाली काँग्रेस नगर समितिमा पराजित सगेन चौधरीले छुट्टै उम्मेदवार उठाएका छन् । स्थानीय व्यवसायी भरत कार्कीलाई विजयी गराउने अभियानमा छन् चौधरी । अर्का उम्मेदवार नवीन कुमार चौधरीलाई पराजित गराउने रणनीति अनुसार अगाडी बढेका छन् सगेन चौधरी ।
चुनावी अभियानको क्रममा कमजोर देखिएको कार्की र फुयाँल नेतृत्वको प्यानल निर्वाचन मिति सार्नुपर्ने अडानमा छन् । यसअघि चैत १२ गते नै निर्वाचन हुनुपर्छ भनेर माग गरेका दुवै समूहले अहिले मतदाताको विषय सम्झाएका हुन् ।  रामधुनी नगरपालिका बाहिरका नागरिक मतदाता भएको भन्दै फुयाँल र कार्की समूहले विरोध जनाएको हो । 
नवीन कुमार चौधरी र भोला रौनियारको प्यानल चुनाव गराउनै पर्ने पक्षमा देखिएका छन् । नवीन र भोलाले एक अर्कालाई प्रतिस्पर्धी ठानेका छन् । बाकी उम्मेदवार सँगै दुवै उम्मेदवारले कुनै पनि प्रतिस्पर्धा नहुने तर्क गरेका छन् । 
नवीन चौधरीले राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा सहितको संयुक्त प्यानल बनाएका छन् । नेपाली काँग्रेस निकट चौधरी झुम्काका लोकप्रिय युवा व्यवसायी हुन् । 
रौनियार पनि झुम्काका पुराना व्यवसायी हुन् । उनले मधेसी समुदाय केन्द्रित चुनावी अभियान अगाडी बढाएका छन् । विपक्षीले वर्तमान अध्यक्ष धर्मेन्द्र शाहले समर्थन गरेका छन् । यसअघि शाह सँगै पराजित भएका रौनियार उनकै बलमा चुनाव जित्ने रणनीतिमा छन् । उनलाई नेकपा माओवादी केन्द्रले समर्थन गरेको छ । माओवादीले घोषित रूपमा समर्थन नगरे पनि आन्तरिक सर्कुलर जारी गरेको रौनियार समर्थकहरू बताउँछन् । वर्तमान अध्यक्ष शाह पनि आफ्नो बोलवाला र मधेसी समुदायको निर्णायक मतको तागत देखाउने रणनीतिमा छन् ।
आन्तरिक काँग्रेस भित्रको दुई समूहले आआफ्नै प्रतिष्ठा सँग जोडेका छ भने एमालेले पनि आफ्नो हैसियत देखाउने तयारी गरेको छ । नवीनले चौधरीको मत आकर्षित गर्ने रणनीति बनाए पनि उनको लागि तगारो बनेका छन् सगेन चौधरी । सगेन स्थानीयस्तरमा चर्चित नेता भएकाले चौधरी मत विभाजन गरेर नवीनलाई पराजित बनाउने तयारी देखिन्छ । 
अध्यक्ष बाहेक पदाधिकारी र सदस्यका उम्मेदवारहरू बिचमा पनि त्यस्तै राजनैतिक र व्यक्तिगत प्रतिस्पर्धा छ । एकले अर्कालाई हैसियत देखाउने बलियो अस्त्र बनेको छ उवासंघ निर्वाचन । एकले अर्काको अस्तित्व अस्वीकार गर्ने र आफ्नो प्रतिष्ठा सँग जोडिएपछि झुम्काको सानो बजार राजनीतिको ठुलो भुमरीमा परेको छ । 
उता झुम्का उवासंघको विधान २०६१ को परिच्छेद ३ को दफा ७ बमोजिम साधारण सदस्य भएका हरेक व्यवसायीले मतदान गर्न पाउने व्यवस्था छ । दफा १८ को उपदफा २ र ३ मा साधारण सदस्यको मताधिकार बारे प्रस्ट पारिएको छ । निर्वाचन समितिले मङ्गलवार दिउँसो ४ बजे सर्वपक्षीय भेला बोलाएर निर्वाचन प्रक्रिया बारे जानकारी गराएको छ । 
विधान अनुसार निर्वाचन समितिले अन्तिम मतदाता नामावली ९ गते नै सार्वजनिक गरिसकेको छ । ९ गते साँझ सम्म कुनै दाबी विरोध नआएपछि निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन गरेको हो । निर्वाचन समितिका प्रमुख डिल्ली कार्कीका अनुसार निर्वाचन प्रक्रिया प्रभावित नहुने भएको छ । निर्वाचनको लागि गठन भएको समिति हरहमेसा चुनाव गराउन तयार रहेको उनले बताए ।