इटहरी : कलालय इटहरीको आयोजनामा १५ दिने नाट्य कार्यशाला हुने भएको छ । चैत २२ गते देखी वैशाख ७ गते सम्म इटहरीको युवा विकाश केन्द्रको भवनमा कार्यशाला हुन लागेको हो । 
२०६७ साल देखी सुरु भएको नाट्य कार्यशाला लाई स्कुल थिएटरको नाम दिइएको छ । चैत २० गते सम्म सम्पर्कको समय निर्धारण गरिएको कार्यशालामा बालबालिकालाई नाट्य क्षेत्रको बारेमा प्रशिक्षण दिइने भएको छ। 
दैनिक जीवनमा कलाको महत्त्व बुझाउन र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको कलालयका अध्यक्ष सोनु जयन्तीले बताए । थिएटरको माध्यमबाट सिकाउने फरक शैलीको विकाश गर्न लागिएको उनले जानकारी दिए । बालबालिकाको भित्र रहेको क्षमता खोज्ने र सोही अनुसारको वातावरण सृजना गराउनु कार्यशालाको उद्देश्य रहेको उनले बताए । 
पहिलो वर्ष ६५ विद्यार्थी सहभागी कार्यशालामा पछिल्ला बर्सहरूमा १२५ जना सम्म सहभागी भएको उनको भनाई छ । यस पटकको लागि ५० जनालाई मात्र सहभागी गराइने उनले प्रष्ट पारे । 
विद्यार्थीको परीक्षा सकिएको र नयाँ कोर्ष सुरु नभएको अवस्थालाई ध्यान दिएर समय निर्धारण गरिएको हो । दिउँसो ११ बजे देखी ४ बजेसम्म चल्ने कार्यशालामा निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीको सहभागिता रहने भएको छ ।